८ कार्तिक २०८३, शनिबार

तुलसीपुर–१६ मा स्वतन्त्र उम्मेदवार शिवानन्दले जिते वडाध्यक्ष

  • १० जेठ २०७९, मङ्गलबार
Image

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा स्वतन्त्र उम्मेदवार शिवानन्द डिसी विजयी भएका छन्।

यो वडामा गठबन्धन दल नेकपा एकीकृत समाजवादीसहित सात जना वडाध्यक्षमा भिडेका थिए। 

ती सबैलाई पराजित गरेर पुतली चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार डिसी निर्वाचित भएका हुन्।

तुलसीपुर–१६ को एक जना वडाध्यक्ष पदका लागि दाङ जिल्लामै सबभन्दा बढी उम्मेदवारी परेको थियो। 

मंगलबार दिउँसो प्राप्त मत परिणाम अनुसार डिसीले १३४४ मत प्राप्त गरे।

वडाध्यक्षमा निर्वाचित डिसीले मतगणनाको सुरूदेखि नै अग्रता लिन सुरू गरेका थिए। उनले अन्तिमसम्म पनि कसैलाई भेट्टाउन वा उछिन्न दिएनन्। 

४९ वर्षीय निर्वाचित डिसीले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमर खड्कालाई १८५ मतान्तरले पराजित गरेका हुन्। खड्काले ११५९ मत प्राप्त गरेका थिए। 

२०७४ सालमा पनि डिसी नेकपा माओवादी केन्द्रबाट अध्यक्ष लडेका थिए।  उतिखेर उनी १२२ मतले पराजित भएका थिए। 

यो वडामा गठबन्धन दलबाट नेकपा एकीकृत समाजवादीका भूपबहादुर केसी (कलम) ले ४६७, नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवार कलाधर आचार्य (हाँस) ले १९६, नेकपा एमालेका स्वतन्त्र उम्मेदवार पदमबहादुर केसी (धारा) ले १८३, मंगोल अर्गनाइजेसन पार्टीबाट लेखबहादुर कुमाल (कुखुराको भाले) ले ७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रितबहादुर बस्नेत (हलो) ले ५२ मत प्राप्त गरे। 

यहाँ २०७४ सालको स्थानीय तह निर्वाचमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा झिनो मतान्तरले पराजित गणेश चौधरीसहित आठ जनाको उम्मेदवारी परेको थियो। तर, निर्वाचनको दुई दिन अगाडिमात्रै नेताहरूको आग्रहमा चौधरीले गठबन्धन दलका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए। तै पनि चौधरीको लौरो चुनाव चिन्हमा ७ मत प्राप्त गरेका थिए।

२०७४ सालमा नेकपा एमालेबाट वडाध्यक्ष जितेका भूपबहादुर केसी पछिल्लो समयमा नेकपा एकीकृत समाजवादीमा पार्टी प्रवेश गरेका थिए। त्यसैले समाजवादीले गठबन्धनले जित्ने आशासहित फेरि पनि केसीलाई नै उम्मेदवार बनाएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर