काठमाडौँ । नवगठित नेकपा (बहुमत) ले बिहीबार बिहान प्रहरीले पक्राउ गरेका आफ्ना संयोजक धमेन्द्र बास्तोला ‘कञ्चन’ तत्काल रिहा गर्न माग गरेको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गर्दै केही दिन अघि मात्र गठित नेकपा (बहुमत) का संयोजक बास्तोलालाई प्रहरीले आज बिहान दाङबाट पक्राउ गिरफ्तार गरेको हो।
उक्त पार्टीका नेता हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गरी तत्काल उनको रिहाइ गर्न माग गरेका हुन्।
‘क. कञ्चन पोखराबाट प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा बम विस्फोट गराइनु र उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षडयन्त्र रहेको कुरा स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ।
विप्लव संसदवादी र वितण्डतावादी भएको आरोप बास्तोलाको नेतृत्वमा नयाँ पार्टी नेकपा बहुमत खोलिएको हो।
पक्राउपछि जारी विज्ञप्तिमा पार्टीले विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको बताएको छ।
‘संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने र स्थानीय निर्वाचनका सन्दर्भमा पार्टीले चुनावमा भाग नलिने तथा देशभक्त र जनपक्षीय उम्मेदवारलाई सहयोग गर्न सकिने नीति लिएको छ’, विज्ञप्तिमा भनिएको छ।
साथै विज्ञप्तिको अन्तिममा चुनौती दिँदै भनिएको छ, ‘उहाँलाई तुरुन्त रिहा गरिएन भने देशव्यापी रुपमा हुने संघर्षको जिम्मेवार हामी हुने छैनौं।’

© Lok Kalam . Designed and Developed by Goldenmud Creation