काठमाडौं- नेपाली कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा खेलराज पाण्डे सर्वसम्मत सिफारिस भएका छन्।
कांग्रेस उपमहानगर समिति वैठकले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको कांग्रेस नगर सचिव छाया पोखरेलले जानकारी दिए।
नगरको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गर्नुपर्नेछ। एकल नाम सिफारिस भएकाले मेयर पदमा कांग्रेसबाट पाण्डेको उम्मेद्वारी निश्चित भएको छ। पाण्डेसँगै कांग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल, व्यवसायी महेशमान सिंहलगायत पनि मेयरका आकांक्षी थिए।
पाण्डे पार्टीका नगर सभापतिसमेत हुन्। उनी अघिल्लो स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मत अन्तरले पराजित भएका थिए। सुवेदीले २३ हजार २ सय ४९ मत पाउँदा पाण्डेले २० हजार ८ सय ५१ मत प्राप्त गरेका थिए।
गत निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो। यस्तै उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी,रिता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवाली सिफारिस भएका छन्।
नेकपा एमालेले बुटवलबाट अहिलेका मेयर शिवराज सुवेदी, बाबुराम भट्टराई, गोपाल राना, तेजेन्द्र केसी, गोमादेवी आचार्य, सूर्यबहादुर भट्टराई, सावित्रा अर्याल र रामप्रसाद रेग्मीको नाम सिफारिस भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation