रुपन्देही । नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिनेहरूलाई कारबाही गरेको छ।
पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निस्कासन गरेको हो।
एमाले रुपन्देहीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविरुद्ध जाने जो कोहि पनि पार्टीको सदस्य बन्न नसक्ने भन्दै उनीहरुका कुनै पनि भ्रममा नपरी पार्टीका आधिकारिक उम्मेदवारहरुको पक्षमा लाग्न आग्रह गरेको छ।
एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निकालेको विज्ञप्तिमा पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका १५ जना सदस्यहरुलाई आजका मितिदेखि नै लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरेर सबै जिम्मेवारीबाट निस्कासन गरिएको उल्लेख गरिएको छ।
देवदह नगरपालिका वडा नम्बर १ का हरिबहादुर तामाङ, देवदह ५ का तोलराज बिक, देवदह ७ का पदम थापा, ओमसतिया २ का इन्द्रजीत यादव, ओमसतिया ४ का बेचुराम जयसवाल र रामशंकर चाई छन्।
त्यस्तै रोहिणी १ का अनिता हरिजन, रोहिणी २ का कान्छा कोहार, रोहिणी ४ का नन्दकिशोर कुर्मी, रोहिणी ५ का पशुपतिनाथ यादव र बुटवल १६ की बबिता आचार्य छन्।
त्यसैगरी सियारी ४ का श्रीप्रसाद श्रेष्ठ, गैंडहवा ६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा ६ का हरि पाण्डे र तिलोत्तमा ५ का हरि पौडेललाई पार्टीबाट निस्कासन गरिएको एमालेले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation