लोक कलम सम्वाददाता,
काठमाडौँ, १७ जेठ ।
नेपाली काँग्रेस(नेका) का केन्द्रीय सदस्य प्रदीप पौडेलले जनता नेका लाई जिताउन आतुर छन् भन्ने कुरा स्थानीय निर्वाचनको मत परिणामले देखाएको बताएका छन् । उनले आगामी प्रदेश र संघीय निर्वाचनमा काँग्रेसलाई बलियो रुपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा पनि जोड दिए ।
नेका काठमाडौं क्षेत्र नम्बर ७ (ख) विद्यार्थी विभागले मंगलबार आयोजना गरेको क्षेत्र नम्बर सात अन्तर्गतका नगर र वडाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले उक्त कुरा बताएका हुन् ।
‘स्थानीय निर्वाचनमा पाएको मतबाट जनता काँग्रेसलाई भोट हाल्न आतुर छन् भन्ने देखाएको छ। प्रदेश र संघीय निर्वाचन आउँदै छ, आगामी दिनमा पनि मतदातालाई आकर्षित गर्न सक्नुपर्छ’, उनले भने, ‘यसका लागि पार्टीले पनि स्पष्ट दृष्टिकोण निर्माण गर्छ । जनजिविकाका मुद्दाहरुलाई हाम्रो मुद्दा बनाउन सक्नुपर्छ ।’
कार्यक्रममा उनले जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामनासमेत दिएका थिए । कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ७ का सभापति मुकुन्द रिजाल,बाग्मति प्रदेश सदस्य सबिन तामाङ ,तारकेश्वर नगरपालिका उपमेयर शिर्जन बुर्लाकोटी,महाधिवेशन प्रतिनिधि शुशिल भट्ट लगायतका नेताहरूले कार्यक्रममा धारणा राखेको कार्यक्रमका सभापति नबिन फँुयालले बताए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation