८ कार्तिक २०८३, शनिबार

७५३ पालिकामा कुन दलका उम्मेदवार कति?

  • १५ वैशाख २०७९, बिहिबार
Image

काठमाडौं- वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार यसअघि परेका उजुरीहरुको छानबिन गरिरहेको छ। आयोगले १२ गतेसम्म उम्देवारी दर्ताको समय दिएको थियो। वैशाख १३ गते उम्मेदवारविरुद्ध उजुरी दिनसक्ने समय तोकेको हो।

आयोगले गरेको उम्मेदवारहरुको अध्यावधिक विवरण अनुसार सत्ता गठबन्धनका पाँच दलको मात्रै आवश्यक पद भन्दा दुई गुना बढी उम्मेदवारी दिएको छ।

प्रमुख प्रतिपक्षी एमालेसँग भिड्न चुनावी मैदानमा उत्रिएको गठबन्धन आफैंभित्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको छ। ७५३ पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित सदस्यसहित ३५ हजार २२१ पदमध्ये गठबन्धनभित्रकै दलबाट प्रतिस्पर्धा गर्ने गरी ७४ हजार ७२४ जनाको उम्मेदवारी परेको हो।

सत्ता गठबन्धन दलबीच करिब दुई दर्जन जिल्लामा मात्र ‘सेट’ मै तालमेल भएकाले बाँकी जिल्लामा ती दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। 

निर्वाचन आयोगबाट बुधबार अपराह्न प्राप्त तथ्यांकअनुसार सबै पालिकामा १ लाख ५१ हजार ७५६ जनाको उम्मेदवारी परेको छ। निर्वाचन अधिकृतको कार्यालयबाट विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ।  

७५३ प्रमुख र अध्यक्ष पदमा गठबन्धनबाट मात्रै १ हजार ८७९ जनाको उम्मेदवारी परेको छ। प्रमुख र अध्यक्ष पदमा कांग्रेसबाट ५७० जनाले उम्मेदवारी दिएका छन्।  प्रमुख र अध्यक्षमा माओवादीबाट ४६४, जसपाबाट ३४७, नेकपा एकीकृत समाजवादीबाट ३३७, जनमोर्चाबाट ८५ पालिकामा उम्मेदवारी परेको छ।  एमालेले भने ७३६ पालिकामा उम्मेदवारी दिएको छ।  एमालेले भरतपुर महानगरमा राप्रपासँग तालमेल गरेको छ। 

प्रमुख र अध्यक्षमा जस्तै उपाध्यक्ष/उपप्रमुखमा पनि गठबन्धनको तालमेल न्यून देखिएको छ।  ७५३ पदका लागि उपाध्यक्ष र उपप्रमुखमा गठबन्धनबाट १ हजार ७९३ उम्मेदवार छन्।  कांग्रेसबाट ५७०, माओवादीबाट ५२५, जसपाबाट २९३, नेकपा एकीकृत समाजवादीबाट ३५७ र जनमोर्चाबाट ४६ जनाको उम्मेदवारी परेको छ।  

वडाध्यक्षमा प्रायः सबै दलले उम्मेदवारी दिएको देखिन्छ।  ६ हजार ७४३ वडामा गठबन्धनको उम्मेदवार २ गुनाभन्दा बढी छन्।  आयोगका अनुसार वडाध्यक्षमा गठबन्धनका उम्मेदवार १५ हजार २२९ जना छन्।  जसमा कांग्रेसबाट मात्रै ६ हजार ११६ जना छन्।  माओवादीका ४ हजार ४१२, जसपाका २६२, समाजवादीका २ हजार ४१५ र जनमोर्चाका २२४ जनाले उम्मेदवारी दिएका छन्। 

सबै पदमा स्वतन्त्र उम्मेदवार १२ हजार ६४६ जना छन्।  यसमा पालिका प्रमुखमा १ हजार ३८५, अध्यक्षमा १ हजार २९ को उम्मेदवारी परेको छ।  दलगत रूपमा हेर्ने हो भने सबैभन्दा बढी एमालेको उम्मेदवारी परेको छ।  प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी सबै पदमा एमालेबाट ३३ हजार २५७ जनाको उम्मेदवारी परेको छ।  एमालेबाट प्रमुख पदमा २६३ पुरुष र २७ महिलाको उम्मेदवारी परेको छ।  

त्यस्तै अध्यक्षमा ४१८ पुरुष र २८ महिलाले उम्मेदवारी दिएका छन्।  उपप्रमुखका २६ पुरुष र २५९ महिला तथा उपाध्यक्षमा ३५ पुरुष र ४१० जना महिलाको उम्मेदवारी परेको छ।  कांग्रेसबाट २५३ पुरुष र ११ महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्।  

३६३ जना पुरुष र १९ जना महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।  त्यस्तै कांग्रेसबाट उपप्रमुखमा ३१ जना पुरुष र १८० महिलाले उम्मेदवारी दिँदा उपाध्यक्षमा ६७ पुरुष र २९२ महिलाको उम्मेदवारी परेको छ।  वडाध्यक्षमा कांग्रेसबाट ६ हजार ३६ जना पुरुष र ८० जना महिलाले उम्मेदवारी दिएका छन्।  कांग्रेसबाट सबै पदमा गरी ३१ हजार २२० जनाको उम्मेदवारी परेको छ।  त्यस्तै, माओवादी केन्द्रबाट १५६ जना पुरुष र १८ जना महिलाले प्रमुख पदमा उमेदवारी दिएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर