८ कार्तिक २०८३, शनिबार

आज ठूला दलहरुले उम्मेदवारी दर्ता गराउँदै, अन्तिम नामावली प्रकाशन पनि आजै

  • १३ वैशाख २०७९, मङ्गलबार
Image

काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार देशभर सुरु उम्मेदवारी दर्ता आज पनि जारी रहनेछ। आझ ठूला राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराउने भएका छन्। 

देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा आइतबार बिहान १० बजे उम्मेदवारको मनोनय सुरु भएको हो। ​

निर्वाचन आयोगका अनुसार आज (सोमबार) पनि बिहान १० बजे अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। 

कानुनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ। 

स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा वडाअध्यक्ष र वडा सदस्यले सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा उम्मेदवारको स्वघोषणा पेस गर्नुपर्नेछ। दलित महिला वडा सदस्यले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ। 

स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटीबापत रु एक हजार ५००, वडाध्यक्षले रु एक हजार र वडा सदस्यले रु ५०० धरौटी राख्नुपर्ने आयोगले जनाएको छ। महिला, दलित, विपन्न तथा अल्पसङ्ख्यक उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ। 

सोमबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। मनोनयनसँग सम्बन्धित सम्पूर्ण कार्य सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने आयोगले जनाएको छ। 


आइतबार देशभर  करिब ११ हजार जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका छन्।  निर्वाचन आयोगका अनुसार देशभर करिब ११ हजारले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। 

देशभरका ७५३ वटै निर्वाचन कार्यालयबाट निर्वाचन आयोगको सिस्टममा इन्ट्री भएको तथ्यांक अनुसार पालिका प्रमुखमा ९७३, उपप्रमुखमा ४९४ र वडाध्यक्षमा २ हजार ८२६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै वडा सदस्यमा ३ हजार १९०, महिला सदस्यमा १ हजार ९१ र दलित महिला सदस्यमा १ हजार ३० जनाले मनोनयन दर्ता गराएका छन्। सफ्टवेयरमा  इन्ट्री जारी रहेकाले रातिसम्म यो संख्या बढ्न सक्ने आयोगले जनाएको छ। देशभरिका कुल ७५३ पालिकामा ३५ हजार २२१ पदका लागि आगामी वैशाख ३० मा चुनाव हुँदैछ। 

प्रतिक्रिया

सम्बन्धित खवर