काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार टुंग्याएको छ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एकीकृत समाजवादीले पोखरामा मेयर, हेटौंडा उपमहानगरपालिकामा मेयर र इटहरी, बुटवल र तुलसीपुरमा उपमेयरको उम्मेदवार पाएको छ। एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ।
आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि शनिबार पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आचार्य पार्टीका कास्की जिल्ला अध्यक्ष हुन्। यस्तै एकीकृत समाजवादीको भागमा परेको काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति भएको छ।
त्यसैगरी हेटौंडा उप महानगरपालिकामा मीना लामालाई मेयर उम्मेदवार बनाउने भएको छ। लामा अहिले उपमेयर छिन्। इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशव विष्टलाई उम्मेदवार निर्णय गरेको छ। विष्ट राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव हुन् । त्यस्तै एकीकृत समाजवादीले बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङलाई उम्मेदवार बनाउने भएको छ।
उनी पार्टीका बुटवल नगरअध्यक्ष हुन् भने यसअघिको स्थानीय चुनावमा वडासदस्यमा निर्वाचित भएका थिए। त्यसैगरी एकीकृत समाजवादीले दाङको घोराही नगरपालिकाको उपमेयरमा जोगबहादुर रानालाई उम्मेदवार बनाउने भएको छ। राना दाङ जिल्ला कमिटीका अध्यक्ष हुन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation