काठमाडौं- उपमहानगरपालिकाको भागबण्डाका लागि छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
आशन्न स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका दलका शीर्ष नेताहरू उपमहानगरपालिकाको भागबण्डाका लागि छलफलमा जुटेका हुन्।
आजको बैठकले ११ वटा उपमहानगरको भागबन्डा टुंग्याउने गर्ने बताइएको छ। हिजो राति अबेरसम्म बसेको बैठकले सहमति जुटाउन नसकेपछि नेताहरू आज बसेका हुन्।
१० वटा उपमहानगरमा लगभग भागबण्डा मिले पनि जनकपुरमा दुई पार्टी कांग्रेस र जसपाको दाबी छ। कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने बताइएको छ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले घोराही र जितपुर सिमरा लिने र नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ। ६ महानगरको भागबन्डा भने मिलिसकेको छ।
काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसले, पोखरा एकीकृत समाजवादीले, वीरगञ्ज जसपाले र भरतपुर नेकपा माओवादी केन्द्रले लिने गरी सहमति भएको छ।
महानगर तथा उपमहानगरको भागबन्डाबारे नेपाली कांग्रेसमा भने असन्तुष्टि बढेको छ। पोखरा र हेटौंडामा नेता कार्यकर्ताहरूले कांग्रेसको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation