९ कार्तिक २०८३, आइतबार

गठबन्धनको बैठकमा सिट बाँडफाँटमा सहमति जुटेन, साँझ पुन: बस्ने

  • ५ वैशाख २०७९, सोमबार
Image

काठमाडौं- स्थानीय तह निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सबै दलहरूले आ-आफ्नो अडान कायमै राखेकाले बिहानको बैठकमा कुनै सहमति जुट्न नसकेको हो।

गठबन्धनका शीर्ष नेता र गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको संयूक्त बैठक चुनावी तालमेलका विषयमा छलफल भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए।

बैठकमा उठेका विषयबारे आ-आफ्नो दलमा छलफल गरेर आजै बेलुकी पुनः संयुक्त बैठक बस्ने उनले जानकारी दिए। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार बैठकपछि स्थानीय चुनाव र गठबन्धनबारे जानकारी गराउन गरेको पत्रकार सम्मेलनका लागि पार्टी कार्यालय पेरिसडाँडामा पुगेका छन्। गठबन्धनमा रहेका जनमोर्चाबाहेक अन्य ४ दलले महानगरमा दाबी गरिरहेका छन्।

०७४ को निर्वाचनमा ६ मध्ये २ महानगर जितेको कांग्रेस अहिले कुन महानगर छाड्ने भन्नेमा अलमलमा छ।  गएको निर्वाचनमा कांग्रेसले ५ वटा महानगरमा दोस्रो मत प्राप्त गरेको थियो।

अहिलेको परिस्थितिमा कांग्रेसले गठबन्धनबाट भरतपुर महानगरमा माओवादी केन्द्र, वीरगञ्ज जसपा, पोखरा महानगर एकीकृत समाजवादीलाई छाड्ने स्थिति देखिएको छ। तर, कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक भएपनि पार्टीका तल्ला तहबाट कुनै पनि महानगर नछाड्न चर्को दबाब परिरहेको छ। केन्द्रबाट निर्णय लादे तल्लो तहबाट विद्रोह हुनसक्ने चेतावनीसमेत उनीहरूले कांग्रेसका शीर्ष नेतालाई दिइसकेका छन्। गठबन्धनको मुख्य सकस चितवनको भरतपुर महानगरमा पर्ने देखिएको छ।

भरतपुर ०७४ सालको निर्वाचनमा पनि कांग्रेसले सघाउँदा समेत प्रचण्डकी छोरी रेणु दाहाल झिनो मतले विजयी भएकी थिइन्। अहिले प्रचण्ड फेरि रेणुलाई नै दोहोर्‍याउने प्रयासमा छन्। ०७४ सालको निर्वाचनमा कांग्रेसले विराटनगर र ललितपुर महानगर जितेको थियो।

कांग्रेस वृत्तमा भरतपुर महानगरमा चर्को विवाद भइरहे पनि प्रचण्डले माथिबाटै निर्णय गरेर आउने बताउँदै आइरहेका छन्। शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा देउवाले भरतपुर महानगर माओवादीलाई छाड्ने संकेत गरिसकेका छन्।

माओवादीले भरतपुर महानगरबाहेक अन्य महानगरमा खुलेर दाबी गर्न सकेको छैन।  यता, एमालेबाट विद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेले जितेका ठाउँमा आफ्नो दाबीलाई स्वाभाविक रुपमा प्रस्तुत गरिरहेको छ।

गत निर्वाचनमा एमालेले  काठमाडौं र पोखरा महानगर जितेको थियो। काठमाडौंमा देउवाले नछाड्ने मनस्थिति बनाएपछि समाजवादीले पोखरा महानगर नछाड्ने रणनीति बनाएको छ। त्यसो त माधव नेपालले गठबन्धनका बैठकमा तथ्यसहित आफ्ना दाबी प्रस्तुत गरिरहेका छन्। 

यस्तै, ०७४ मा वीरगञ्ज महानगर जितेको जसपाले वीरगञ्ज र विराटनगर गरि २ महानगरमा दाबी गरिरहेको छ। बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला लगायतका नेताहरु सहभागी थिए। 

त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष प्रचण्ड, नेताहरु देव गुरुङ र वर्षमान पुन,  जनता समाजवादी पार्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवका साथमा राजेन्द्र श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपालसहित विजय पौडेल लगायतका नेताहरू सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर