८ कार्तिक २०८३, शनिबार

यसरी जन्मिएको थियो 'नेपाली कांग्रेस'

  • २७ चैत २०७८, आइतबार
Image

काठमाडौं- चैत्र २७ गते नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एक भएको दिन हो। दुवै पार्टी एक भएर नेपाली कांग्रेस बनेको हो।

नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने एउटै उद्देश्य बोकेका लागि दुईवटा पार्टी सन् १९५० अप्रिल ९ (२००६ चैत २७) मा कोलकत्तामा एकीकरण भएका थिए। एउटै उद्देश्यका लागि दुईवटा पार्टी रहिरहनुको खासै औचित्य पनि थिएन। त्यसैले यी दुवै पार्टीले एकता प्रक्रिया अघि बढाए।

दुवै पक्षले आफ्ना वक्तव्यमार्फत् दुवै पार्टीबीच एकता आवश्यक रहेकोमा जोड दिए। वक्तव्यमै उल्लेख भए अनुसार सन् १९५० मार्च १५ मा दुवै पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्यो। बैठकले एकीकरणलाई सिद्धान्ततः स्वीकार गर्‍यो। साथै, एकता प्रक्रिया टुंगो लगाउन राष्ट्रिय कांग्रेसले मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गणेशमान सिंह, प्रजातन्त्र कांग्रेसबाट महेन्द्रविक्रम शाह, सुवर्ण शमशेर र सूर्यप्रसाद उपाध्यायलाई जिम्मेवारी दिइयो।

उनीहरुले एकीकरणको ढाँचा तयार पारे। ‘हामी अल्मलिएर बस्यौं भने लक्ष्यमा पुग्न विलम्ब हुनेछ र इतिहासको पानामा हामी पनि दोषी ठहरिनेछौँ। हामी जुट्न सकेनौँ भने राणा शासन नै यसबाट लाभान्वित हुनेछ। यही विषयलाई हृदयंगम गरेर हामी एक भएर अगाडि बढ्ने मार्ग प्रशस्त गर्न लागेका हौँ। छिट्टै हाम्रो दुवै दलका प्रतिनिधिहरुको सम्मेलन डाकिनेछ। अब हाम्रो दुवै दलका कार्यकर्ताहरुले एकले अर्कामा विलय भएको ठानेर एकताबद्ध रुपमा काम गर्नुपर्नेछ’, मातृका र महेन्द्रविक्रमले मार्च २७ मा जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ।

त्यसपछि सन् १९५० अप्रिल ९ (२००६ चैत २७) मा कोलकत्ताको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन (अधिवेशन) आयोजना गरियो। तीन सय जना प्रतिनिधि सहभागी भएर दुई दिनसम्म चलेको सो सम्मेलनले दुई पार्टी एक भएको र नयाँ नाम ‘नेपाली कांग्रेस’ रहेको घोषणा गर्‍यो।

सोही दिन नेपाली कांग्रेसका पदाधिकारी चयन गरियो। पूर्वसमझदारी अनुसार सभापति मातृकाप्रसाद कोइराला, महेन्द्रविक्रम शाह महामन्त्री चयन भए। त्यस्तै, केन्द्रीय कार्यसमितिमा राष्ट्रिय कांग्रेसका तर्फबाट बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरी तथा प्रजातन्त्र कांग्रेसबाट सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, महावीर शमशेर र कुँवरकल्लु सिंह नेपाली चयन भए। भट्टराई सहमहामन्त्री र सुवर्ण शमशेर कोषाध्यक्ष भए। पार्टीको नाम र झण्डाको विषयमा गणेशमान सिंहको अडान रोचक छन्। पार्टी एकताका लागि कुराकानी चलिरहँदा नै यी विषय पेचिलो बनेर आएका थिए।

सिंहले पार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस नै हुनुपर्ने अडान राखेका थिए। तर, महेन्द्रविक्रमले त्यस्तो नाम राख्दा पार्टी एकता गरेको नभई आफ्नो पार्टीको विलय भएको अर्थ दिने र कार्यकर्ताको भावनामा ठेस लाग्ने बताए। त्यसपछि दुवै पार्टी आफ्नो नाममा रहेको राष्ट्रिय र प्रजातन्त्र हटाउन सहमत भए। तर ‘नेपाली’ र ‘नेपाल’ दुई थरी शब्द कायमै थियो।

सिंहको भनाइ छ- ‘प्रजातन्त्र र राष्ट्रिय शब्द हटाउन सहमति भएपछि ‘नेपाल कांग्रेस’ र ‘नेपाली कांग्रेस’ मध्ये कुन नाम राख्ने भन्ने सवाल उठ्ने नै भयो। सबैजना ‘नेपाल कांग्रेस’ राख्न राजी भएको देखेर मैले भनें- ‘नेपाली कांग्रेस’ राख्नुपर्दछ। भाषाको दृष्टिले पनि नेपाल कांग्रेस हुँदैन, नेपाली कांग्रेस शुद्ध हो, त्यसैले हाम्रो पार्टीको नाउँ नेपाली कांग्रेस राखौं।’ (मेरा कथाका पानाहरु- गणेशमान सिंह) उनको आग्रह अन्तिममा सबैले स्वीकार गरे। त्यसपछि पार्टीको नाम त्यही कायम रह्यो।

अर्को विषय हो, झण्डा। नेपाली राष्ट्रिय कांग्रेसको झन्डा (माथि सेतो धर्को, त्यसपछि हरियो र त्यसको तल पहेँलो) नै नेपाली कांग्रेसको झण्डा हुने तय भएको थियो। तर, सम्मेलनमा झण्डाको प्रस्ताव राख्दा नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा (दुईतिर रातो, बीचमा सेतो र त्यसमा चार तारा) नै कायम हुने भयो।

गणेशमान सिंहले यस विषयमा पनि विरोध जनाएका छन्। उनले बीपीलाई यस विषयमा असन्तुष्टि पोखे। बीपीले भने सुवर्ण शमशेरले आफूलाई थर्टिन थियटरको चार तलाभरी चार तारे झण्डा देखाएको र नेपालमा क्रान्ति गर्न भनेर बनाइराखेको तर राष्ट्रिय कांग्रेसको झण्डा सहमति भएकाले त्यही कायम रहेमा पार्टीको लाखौं खर्च गरेर तयार पारेको झण्डा खेर जाने भएको भन्ने दु:खेसो गरेको बताए। त्यसपछि आफू सोही झण्डा कायम गर्न तयार भएको जवाफ दिएका थिए। 

एउटा आह्वानबाट बनेको पार्टी

२००३ असोज १८ का दिन वीपी कोइरालाले एउटा आह्वान सार्वजनिक गरे। जुन भारतको सर्चलाइट पत्रिकामा सम्पादकलाई चिट्ठी स्तम्भमा छापिएको थियो।

आह्वानमा भनिएको थियो- ‘…भारतबाट अब छिट्टै ब्रिटिशहरुको औपनिवेशिक शासन समाप्त हुँदैछ। त्यसैको आडमा टिकेको नेपालको जहानियाँ शासनलाई समाप्त पार्न अब त्यति कठिन हुनेछैन। तर, त्यसको निमित्त हामी सबैले संगठित भएर अगाडि बढ्न सक्नुपर्छ। अब अगाडि बढ्ने समय आइसकेको छ। हामी सबै मिलेर एउटा संगठन तयार पारौँ, पार्टीको निर्माण गरौँ र त्यही मार्फत् अगाडि बढौं। समयको प्रवाहले कसैलाई पनि पर्खेर बसिरहँदैन। समयको आवाजलाई सुनेर आफ्नो देशको निमित्त केही गर्न म प्रत्येक दाजु-भाइ, दिदी-बहिनीमा हार्दिक अपिल गर्दछु।’

भारतमा शासन गरिरहेका अंग्रेजले दिएको जेल सजायबाट मुक्त भएपछि वीपी कोइरालाले केही महिना क्यान्सरको उपचार गराए। त्यतिञ्जेल भारतबाट अंग्रेज शासक फर्किने निश्चितजस्तै भइसकेको थियो। त्यसैले वीपीले नेपालका लागि काम गर्ने राजनीतिक संगठन खोल्ने कुरामा अग्रसरता देखाए।

राजनीतिक दल खोल्ने मनसायसहित गरिएको उक्त आह्वान प्रकाशित भएपछि वीपीलाई धेरै प्रतिक्रियाहरु आए। कतिपय व्यक्ति र संस्थाहरुले पत्र लेखे। ‘मेरो त्यस आह्वानको व्यापक प्रतिउत्तर पाएँ। मलाई चिठीहरु आए, मलाई मान्छेहरु भेट्न भनी आए र नेपालबाट लुकी-लुकीकन पनि आए’, वीपीले आत्मवृत्तान्तमा लेखेका छन्, ‘त्यसपछि मैले भन्ठानें, यसलाई अब संगठनात्मक स्वरुप दिनुपर्‍यो।’

वीपीको आह्वान सार्वजनिक हुनुअघि नै बनारस हिन्दु विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले ‘नेपाल छात्र संघ (वाराणसी)’ को स्थापना गरिसकेका थिए। यसमा विश्वनाथप्रसाद मिश्र (अध्यक्ष, एक भारतीय प्राध्यापक), कृष्णप्रसाद भट्टराई (उपाध्यक्ष), काशीराज उपाध्याय, रत्नबहादुर पार्थिव, मणिराज भण्डारी, लीलानटेश्वर बराल, ईश्वरी बराल, विश्वबन्धु थापा, भरतमणि शर्मा, रोहिणीराज सत्याल आदि सक्रियतापूर्वक लागेका थिए।

वीपीको आह्वानले कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय लगायतका युवाहरुलाई निकै उत्साहित बनायो। सबै व्यवस्था मिलिसकेपछि छात्र संघकै प्रयासमा कात्तिक १५ गते काशीमा एउटा गोष्ठी आयोजना गरियो। त्यसको मुख्य उद्देश्य राजनीतिक दल खोलेर अघि बढ्ने भन्ने थियो।

उक्त भेलाले राणा शासन अन्त्य गर्न र प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नका लागि एउटा तयारी समिति गठन गर्‍यो। त्यो तयारी समिति नै अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस हो। देवीप्रसाद सापकोटालाई त्यसको सभापति बनाइएको थियो। राणा शासकबाट देश निकालामा परेका उनी त्यतिञ्जेल निकै बृद्ध भइसकेका थिए। उनलाई राणा शासनविरुद्ध गरेको योगदानको कदर गर्दै सभापति बनाइएको थियो।

उपसभापतिमा बालचन्द्र शर्मा, महामन्त्रीमा कृष्णप्रसाद भट्टराई, प्रचारमन्त्रीमा गोपालप्रसाद भट्टराई चयन भए। कार्यसमितिमा बटुकप्रसाद भट्टराई, नारायणप्रसाद भट्टराई र नरेन्द्र रेग्मी थिए। त्यसको संयोजक वीपी कोइराला रहे। बनारसमात्रै होइन, स-साना संगठनहरु अन्यत्र पनि विस्तार भइरहेका थिए।

यस्तो एउटा संगठन कलकत्तामा पनि थियो। पार्टी खोल्नका लागि वीपी विभिन्न संगठन भेट्दै र बनाउँदै हिँडेका थिए। पार्टी खोल्ने सम्बन्धमा उनले भारतीय नेताहरु तथा मित्रहरु जयप्रकाश नारायण, राममनोहर लोहियाहरुसँग पनि सल्लाह सुझाब लिइरहेका थिए। त्यसकै तीन वर्ष पछि दुवै पार्टी एक भएर नेपाली कांग्रेस बन्यो। जुन अहिले सम्म छ।

(उल्लिखित सन्दर्भहरु विभिन्न पुस्तकहरुबाट लिइएको हो।)

प्रतिक्रिया

सम्बन्धित खवर