१९ असोज २०७९, बुधबार

राष्ट्रपतिले राजीनामा दिनुको अर्को विकल्प छैन : शान्ति समाज

  • ६ असोज २०७९, बिहिबार
Image

काठमाडौं- मानवअधिकार तथा शान्ति समाजले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनुपर्ने बताएको छ । शान्ति समाजले संसदका दुवै सदनबाट पारित भएर नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्ने राष्ट्रपतिले राजीनामा दिनुको विकल्प नरहेको बताएको हो।

'संसदबाट पारित विधेयकमा राष्ट्रपतिको असहमति भए त्यस्तो अवस्थामा एकपटक पुनर्विचारका लागि संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक अधिकार राष्ट्रपतिले प्रयोग गरिसक्नु भएको छ भने संसदका दुवै सदनबाट पुन पारित भइसकेको अवस्थामा राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गर्नु या राष्ट्रपति पदबाट राजीनामा दिनुबाहेक उहाँसँग अर्को विकल्प रहँदैन,' शान्ति समाजले भनेको छ।

बिहीबार शान्ति समाजका अध्यक्ष गोविन्द खनालले विज्ञप्ति जारी गरी राष्ट्रपति संवैधानिक दायित्वबाट विमुख भएको बताएका छन्। 'संसदका दुवै सदनबाट पारित भई आएको विधेयकलाई संविधान अनुरुप प्रमाणीकरण गर्नुपर्ने दायित्वबाट राष्ट्रपति विद्यादेवी भण्डारी विमुख हुनु आपत्तिजनक छ,' विज्ञप्तिमा भनिएको छ।

संसदीय सर्वोच्चतालाई चुनौती दिँदै विधेयकलाई प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदम संविधान र लोकतन्त्र विरोधी भएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति पदको दुरुपयोग गर्दै संवैधानिक मर्यादा विपरीत मोर्चाबन्दी गर्ने र राज्यको संवेदनशील निकायलाई विवादमा तान्न खोज्ने राष्ट्रपति भण्डारीको आचरणप्रति पनि शान्ति समाजले आपत्ति जनाएको छ।

'राष्ट्रपति भण्डारीको संविधान विरोधी यो कृत्यको सम्बन्धमा संवैधानिक मर्यादाको सीमाभित्र रहेर न्यायिक हल खोज्न पनि सरकार र जिम्मेवार राजनीति दलहरूलाई आग्रह गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोध गर्ने नाममा कुनै पनि असंवैधानिक अभ्यास र अराजकतालाई बढावा दिने काम सरकारले गर्नु हुँदैन।'

शान्ति समाजले उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति पदको मर्यादा र गरिमा विपरीत गरेको टिप्पणीप्रति पनि आपत्ति जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर