८ कार्तिक २०८३, शनिबार

राजदूत सिफारिस : माधव र पम्फाका बहिनी ज्वाइँ, विश्‍वम्भरकी श्रीमती र प्रचण्डका विश्वासपात्र

  • २६ चैत २०७८, शनिबार
Image

काठमाडौं- सरकारले बिहीबार गरेको राजदूतको सिफारिसमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक दख्‍खल नभएका व्यक्तिहरुलाई सिफारिस गरेको छ। यसअघि शेरबहादुर देउवाले कांग्रेसको कोटाबाट सिफारिस गरेका तीन जनाको नियुक्तिको प्रशंसा भए पनि बिहीबार सिफारिस भएकाहरुको भने चर्को आलोचना भइरहेको छ। 

केही त नाम नसुनिएका व्यक्तिहरुलाई सिफारिस गरेर विदेशमा नेपालको छविलाई कसरी बढाउनसक्छन् भन्‍ने प्रश्‍नसमेत उठेका छन्। राजदूत नियुक्तिमा नातागोता र आफन्तलाई प्राथमिकतामा राखिएको पाइएको छ। माधवकुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी म्यानपावर व्यवसायी शर्मिला पराजुली ढकाललाई राजदूत सिफारिस गरिएको छ।

पोखरेल अस्ट्रेलिया र पराजुली स्पेनका लागि सिफारिस भएको जनाइएको छ।

त्यस्तै, श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालकी बहिनी ज्वाइँ हुन्। चीनको राजदूतमा माओवादी कोटाबाट विष्णु पुकार श्रेष्ठ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र हुन्। त्यस्तै जसपाको कोटाबाट पूर्व सांसद नवराज सुवेदी जनमोर्चाबाट पार्टी परित्याग गरेर केही समयअघि जसपा प्रवेश गरेका व्यक्ति हुन्।  यसअघि श्रीलंकाको राजदूतबाट राजीनामा दिएका विश्वम्भर प्याकुरेलकी पत्‍नी ज्योति प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ।

दक्षिण अफ्रिकामा सिफारिस भएका दानबहादुर तामाङ राखेपको सदस्य सचिवको सूचीबाट आउट गरिएका व्यक्ति हुन्।  इजरायलमा शान्ता रिजालको नाम सिफारिस भएको छ भने जसपाका रामसुरज राय डेनमार्कका लागि सिफारिस भएका छन्। रुसमा  माधव नेपालको सचिवालयमा बसेका मिलन तुलाधर सिफारिस भएका छन् भने श्रीलंकामा बासुदेव मिश्र सिफारिसमा परेका छन्। उनीहरू सबै राजनीतिक दलको कोटाबाट भएका हुन्। त्यस्तै डिल्लीराज पौडेल मलेसियाको राजदूतमा सिफारिस भएका छन्।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले २० देशका लागि राजदूत सिफारिस गरेको थियो। जसमा १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र सेवाबाट सिफारिस भएका थिए। परराष्ट्र कर्मचारीबाट सहसचिव दुर्गाबहादुर सुबेदी (दुबसु) जापानका लागि राजदूत तय भएका छन्। परराष्ट्र सेवाबाटघनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्लेको नाम सिफारिस भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर