९ कार्तिक २०८३, आइतबार

ओलीको द्वेध राजनीति : भाषणमा एक्लै लड्ने हुँकार, भित्रिभित्रै राजावादीसँग तालमेल

  • २१ चैत २०७८, सोमबार
Image

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरका विभिन्‍न जिल्लामा भएका चुनावी सभाहरुलाई सम्बोधन गर्दै स्थानीय चुनावमा आफ्नो पार्टी एक्लै चुनावी मैदानमा होमिने हुँकार गर्ने गरेका छन्। तर, उनले आन्तरिकरुपमा पनि एक्लै चुनावमा जान नसकिने निष्कर्ष निकाल्दै तालमेलका लागि राजावादीहरुसँग वार्ता गरिरहेका छन्। 

सत्तासाझेदार पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि दबाबमा आएको ओली दबाबमा परेका हुन्। पाँचदलीय गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेकै दिन प्रमुख प्रतिपक्षी दल एमालेले राप्रपासँग तालमेलका लागि प्रस्ताव गरेको छ।

एमाले अध्यक्ष केपी ओलीले गत बिहीबार नेपालगन्जस्थित होटेल सोल्टीमा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणासँग चुनावी तालमेलको प्रस्ताव राखेका थिए। राणासँग डेढ घन्टा छलफलमा अध्यक्ष ओलीले दुई पार्टीबीच तीनै तह (स्थानीय, प्रदेश र संघीय)को चुनावमा सहकार्य गरेर जान प्रस्ताव गरेको राणाले बताए।

ओलीले भाषणमा भन्‍ने गरेका छन्, 'चुनावमा एमालेले कसैसँग मोर्चा कस्दैन। अहिले एउटा पाँचदलीय भन्‍ने गठबन्धन बनेको छ, एमालेसँग एक्लै त कसैले आँटै गर्न सक्दैन। एमाले एक्लै चुनाव लड्छ।' उनको सिकै गर्दै पार्टीका अन्य शीर्ष नेताहरुले पनि एमालेले एक्लै चुनाव लड्ने बताउँदै ७० प्रतिशत जित्‍ने बताएका छन्। 

अध्यक्ष ओलीसहितका नेताहरुले भाषणमा एक्लै चुनावमा जाने भनिरहँदा नेकपा एमालेले नै राप्रपा र राप्रपा नेपाल दुबैसँग तालमेल गर्नका लागि विभिन्‍न चरणमा छलफल गरिरहेको छ। राप्रपा नेपालसँग वार्ताका गर्न लागि त समिति नै गठन गरेको छ। एमालेकै एक नेताले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग तालमेल गर्ने सहमति नजिक पुगेका बताए। उनका अनुसार दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र कमल थापाबीच तालमेलका लागि तीन चरणमा भएको वार्ता भइसकेको छ। 

त्यसैगरी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग पनि एमालेले वार्ता गरिरहेको उनको भनाइ छ। उनले भने, 'तालमेलका लागि आवश्यक प्राविधिक कामको टुंगो गर्न दुई पार्टीले नेताहरुलाई जिम्मा पनि दिएको छ। एमालेबाट ओलीका सल्लाहकारसमेत रहिसकेका झापाका नेता देवेन्द्र दाहाल र राप्रपा नेपालबाट महामन्त्री सुशील श्रेष्ठलाई वार्ता गर्न संयोजक तोकिएको छ।' 

तालमेल गर्न सकिने स्थानीय तहबारे टुंगो गर्न दुई जनाको वार्ता टोलीले निर्णय गरेर अध्यक्षलाई देखाएपछि अन्तिम टुंगो लगाइने उनले जानकारी दिए। राप्रपा नेपालले आगामी २४ गतेसम्म आफूले उम्मेदवारी दिन सक्ने पालिकाको दाबी एमालेसमक्ष राख्‍ने तयारी गरेको छ। 

लिङ्देन नेतृत्वको राप्रपासँग पनि एमाले अध्यक्ष ओलीले भेट गर्दै तालमेलको प्रस्ताव गरेका छन्। एमालेका अर्का एक नेताले भने, 'आगामी निर्वाचनका लागि एमालेले राप्रपा र राप्रपा नेपाल दुवैसँग संवाद भइरहेको छ। अध्यक्षज्यूले दुबै राप्रपासँग कुरा गरिरहनु भएको छ। सहमति पनि हुन्छ होला। हामी संवादमै रहेकाले सबै कुरा मिलिसक्न बाँकी छ।'

ओलीले महन्थ ठाकुर नेतृत्वको अर्को विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तालमेलका लागि छलफल अघि बढाएको छ। स्थानीय आवश्यकता आधारमा तालमेलमा जान सकिने एमालेको नीति छ। 

उनले अर्कोतर्फ भने आफूले पाँचदलीय गठबन्धनलाई चाहेको समयमा भत्काउने चेतावनीसमेत दिने गरेका छन्। उनले गत शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम बैठक तथा विस्तारित भेलालाई सम्बोधन गर्दै भने, 'अहिले हेर्नुस् त, बिहान–बेलुकै बालुवाटार टुप्लुक–टुप्लुक पुगेका छन्। 'यो गठबन्धन नटुटाऊँ, गठबन्धन बचाऊँ है’ भनिरहेका छन्। यो गठबन्धन तबसम्म रहन्छ, जबसम्म हामी यसलाई रहन दिन्छौँ। हामीले धेरै केही गर्नुपर्दैन, छ्यास्स हावा खोलिदिएपछि जान्छ। चारवटा चक्का फुकाल्नुपर्दैन, इन्जिन बन्द गर्नुपर्दैन।’


प्रतिक्रिया

सम्बन्धित खवर