काठमाडौं- यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म एक करोड तीन लाख नौ हजार ८३७ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ।
बिहीबार अपराह्न ४ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ। एमालेले २७ लाख ४७ हजार ३३४ मत पाएको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख १५ हजार ५९० मत ल्याएको छ। नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले ११ लाख ५९ हजार ३९३ मत पाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उक्त पार्टीले ११ लाख १२ हजार ८४२ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८३ हजार ८८४ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख १९ हजार ७८८ मत पाउँदै छौटौँ स्थानमा छ।
जनमत पार्टी तीन लाख ९३ हजार २६४ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९३ हजार ७९९ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७० हजार ६४३ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६६ हजार ९६० मतसहित १०औँ स्थानमा छ। अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation