काठमाडौं - नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले वाम एकताको पहल गर्नुपर्ने बताएका छन्।
उनले वाम एकताको नेतृत्व एमालेले लिनुपर्ने बताए। आज काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेको बताए।
पार्टीको पोलिटब्युरो बैठकमा पनि भुसालले वाम एकताको कुरा राखेका थिए। भुसालले भने,‘यो स्थिरतासँग सम्बन्धित छ, वाम एकताको नेतृत्व एमालेले गर्नुपर्छ। एकताको लागि पहल गर्ने आज पनि दायित्व एमालेकै हो।’
हिजो एउटै दल नेकपामा रहेकाहरू प्रतिनिधि सभा विघटनपछि नेकपा एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बने पनि यी तीन दलका बीचमा वैचारिक र सैद्धान्तिक समस्या नरहेको उनको भनाइ थियो।
‘तीन पार्टीमा वैचारिक र सैद्धान्तिक समस्या छैन। हामी जाने बाटो एउटै हो भने तीन पार्टी किन चाहियो?,’ उनले भने, ‘हामी विभाजन भएको ०७७ पुसमा प्रतिनिधि सभा विघटनले हो। त्यो मामिला सर्वोच्च अदालतले टुंगो लगाइसक्यो।’
उनले अब तीन पार्टी फरक हुनुको अर्थ नरहने पनि बताए। ‘तीन पार्टीले चुनावमा आफ्नो हैसियतअनुसारको नतिजा ल्याउँछन् तर तीन पार्टी एक भयो भने सबैभन्दा ठूलो दल बन्छ,’ उनले भने, ‘केहीले वामएकताको कुरा नबुझेर विरोध पनि गरेका हुन सक्छन्।’
उनले विभिन्न शक्तिले पनि वाम एकता हुन नदिएको बताए। ‘०७४ मा पनि वामएकताको कुरा गर्दा मेरो विरोध भएको थियो। यो विभाजन र दूरी कृत्रिम छ,’ उनले भने। उनले पदअनुसार जिम्मेवारी र भूमिका हुन्छ भन्ने स्वीकार गर्नसाथ गठबन्धन हुने पनि बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation