२३ जेठ २०८०, मङ्गलबार

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बादल र पूर्व गृहसचिव राईलाई जोगाएर मुद्दा अघि बढाउने तयारी

  • ५ जेठ २०८०, शुक्रबार
Image

काठमाडौं- नेपाली तथा चिनियाँलाई नक्कली भुटानी शरणार्थीका बनाएर अमेरिका पठाउने गिरोहको अनुसन्धानमा रहेको प्रहरीले केही भीआईपीलाई जोगाउने गरी मुद्दा अघि बढाउने तयारी थालेको छ। 

पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापाको नाम मुछिए पनि उनीविरुद्ध अभियोग दर्ता नहुने भएको हो। बिचौलियाले उनलाई मानव तस्करीबाट प्राप्त भएको ठगी रकम नै दिएको बयान दिएका छन्। इन्द्रजित राईको मोबाइलबाट समेत उनी संलग्न रहेको प्रमाण फेला परेको छ।

यस्तै, इन्द्रजितबाटै पूर्वगृहसचिव प्रेमकुमार राई संलग्न रहेको भन्ने खुलेको छ। उनी हाल अख्तियार प्रमुख छन्। राईविरुद्ध पनि प्रहरीले मुद्दा नचलाउने भएको छ। बिचौलियाले नगद लगेर तत्कालीन सचिव राईको गाडीमा राखिदिएको बयान दिएका छन्।   

थापा गृहमन्त्री र राई गृहसचिव हुँदा नै ठगीको शृंखला सुरु भएको थियो। थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई हुन्। जसले करोडौँ असुलेको प्रमाण प्रहरीले फेला पारिसकेको छ। थापाका छोरा प्रतीकलाई भने प्रहरीले फरारको सूचीमा राखेर मुद्दा चलाउने भएको छ। 

यसरी जुन व्यक्ति गृहमन्त्री र गृहसचिव हुँदा मानव तस्करीको श्रृंखला सुरु भएको हो, उनीहरुलाई नै जोगाएर प्रहरीले मुद्दा अघि बढाउने तयारी थालेपछि यसको थप निष्पक्ष छानबिन हुनुपर्ने माग भइरहेको छ। 

इन्द्रजितका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनी पनि फरार छन्। उनीहरुले पनि रकम असुलेको खुलेको छ। तत्कालीन गृहमन्त्री र सुरक्षा सल्लाहकारका छोराविरुद्ध मुद्दा चले पनि पूर्व गृहसचिव र पूर्व गृहमन्त्रीलाई भने जोगाउने तयारी गरिएको छ। 

नक्कली भुटानी शरणार्थीका नाममा अध्ययन गरी प्रतिवेदन बुझाउन भन्दै २०७६ जेठमा थापा गृहमन्त्री हुँदा नै कार्यदल गठन गरिएको थियो। कार्यदल गठनबाटै ठगीको डिजाइन गरेको पाइएको छ। 

२०७६ जेठ ३० गतेको मन्त्रिस्तरीय निर्णयबाट भुटानी शरणार्थीको समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै पूर्वसहसचिवको नेतृत्वमा एउटा कार्यदल बनाइएको थियो। 

पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा रहेको कार्यदलमा गणेशबहादुर केसी सदस्य र तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव थिए। 

केसीलाई बिचौलियाको चाहनामा समितिमा घुसाइएको थियो। समितिलाई कार्य प्रारम्भको २ महिनाभित्र वैकल्पिक उपायहरुको सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न ६ वटा बुँदामा कार्यादेश दिइएको थियो। 

सोही कार्यदलको प्रतिवेदनमा घुसेर नेपालीलाई शरणार्थी भन्दै अमेरिका पठाउने नाममा ठगी भएको खुलेको छ। तर यो निर्णयमा संलग्न देखिएका बादल र राईविरुद्ध अभियोग नलगाउने तयारीले घटनामा थप सशंय सिर्जना गरेको छ। 

हालसम्म १४ जना पक्राउ परेका छन्। उनीहरुलाई ६ वटा हिरासतमा छुट्टाछुट्टै राखिएको छ। यीमध्ये १३ जनाको बयान सकिएको छ। तर सोमबार पक्राउ परेका शेर्पाको भने बयान बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर