८ कार्तिक २०८३, शनिबार

पत्रकार नेपालले गिरिजाप्रसादको १२ औं अन्तर्वार्ता लिन नपाएपछि...

  • ९ चैत २०७८, बुधबार
Image

काठमाडौं- पत्रकार जगत नेपालले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तर्वार्ताको सिरिज गरिरहेका थिए। उनले ११ सिरिज गरे तर एकाएक १२ औं सिरिजका लागि भने गिरिजाप्रसाद अन्तर्वार्ता दिन तयार भएनन्।

गिरिजाप्रसाद ०६३ वैशाखमा चौंथो पटक प्रधानमन्त्री बनेपछि त्यही वर्षको असारमा पत्रकार नेपालले उनको अन्तर्वार्ता सुरु गरेका थिए। नेपालले ११ औं पटक अन्तर्वार्ता लिए। कान्तिपुर टेलिभिजनबाट २८ पटक उनको अन्तर्वार्ता बज्यो। १२ औं अन्तर्वार्ता भने नेपालले लिन पाएनन्। अन्तर्वार्ता लिन नेपाल टिमसहित बालुवाटार पुग्यो तर कोइराला अन्तर्वार्ता दिन तयार भएनन्। 

नियमित अन्तर्वार्ता दिइरहेका गिरिजाप्रसाद एकाएक नदिने मुडमा गरेपछि नेपालको टिम चकित पर्‍यो। तर, तत्काल त्यसको वास्तविक कारण भने बुझ्‍न सकेनन्। पछि मात्रै पत्रकार नेपालले थाहा पाए कि ११ औं अन्तर्वार्तामा दिएको अभिव्यक्ति सार्वजनिक भएपछि भारतीय मिडियामा उक्त कुरा तरंगित भइसकेको थियो। कोइराला नजिकका केही मानिसहरूका अनुसार उनले अन्तर्वार्तामा विमान अपहरण र भारतमा बस्दा नक्कली नोट छापेको प्रसंगबारे दिएको अभिव्यक्तिकै कारण अन्तर्वार्ता रोकिएको हो।

त्यही विषयले कोइराला अन्तर्वार्तालाई निरन्तर्ता दिन नचाहेको उनी निकट नेताहरूले बताउने गरेका छन्। पत्रकार नेपालले भने अन्तर्वार्तालाई निरन्तरता दिन निकै कोशिष गरे तर सफल हुन सकेनन्। अन्तर्वार्तालाई निरन्तरता दिन नसक्दा राष्ट्रिय घट्नाक्रम बारेमा थुप्रै डकुमेन्टेशन गर्ने अवसर पनि उनले गुमाए। नेपालले हजारौंका अन्तर्वार्ता लिए तर गिरिजाप्रसादकै अन्तर्वार्ताले चिनाउने काम गर्‍यो। नेपालले कोइरालाको जीवनीमा आधारित किताब पनि लेखे। उक्त किताब लेखेपछि प्रथम राष्ट्रपति रामवरण यादवले पनि आफ्नो जीवनीमा आधारित किताब लेख्‍न नेपाललाई अनुमति दिएका छन्। 


गिरिजाप्रसादको राजनीतिक यात्रा

नेपालको इतिहासमा गिरिजा कोइराला निडर र निर्भिक नेताका रुपमा चिनिन्छन्। चट्टानी अडानका नेताको रुपमा समेत उनलाई लिने गरिएको छ। प्रजातन्त्रलाई संस्थागत गर्न र गणतन्त्र स्थापना गर्नु उनको महत्वपूर्ण भूमिका रहेको छ। माओवादी शान्ति प्रक्रियामा ल्याउन उनको ठूलो भुमिका छ। निर्भीक र निडर नेताका रूपमा चिनिने कोइरालाको निधन भएको आज १२ वर्ष भएको छ। 

२०६६ साल चैत्र ७ गते गिरिजाप्रसादको निधन भएको थियो। २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता हुन् गिरिजाप्रसाद। बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि कोइराला चार पटक नेपालको प्रधानमन्त्री बने। २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पहिलो पटक गिरिजाप्रसाद प्रधानमन्त्री बने। 

२०४८ साल जेठ १५ गते पहिलो पटक गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री बने। २०५० सालमा कांग्रेसका ३६ जना सांसदले सरकारको कामको विरोधमा मतदान गरेपछि उनले संसद भंग गरेर मध्यावधि निर्वाचनको घोषणा गरे तर २०५१ सालमा भएको मध्यावधिमा कांग्रेस दोस्रो पार्टी बन्यो। उनी सत्ताबाट बाहिरिए। २०५५ साल बैशाख २ गते  राप्रपाका नेता सूर्यबहादुर थापाको सरकार हटाएर कोइराला दोस्रो पटक नेपालको प्रधानमन्त्री बने। उनले २०५६ सालमा आम निर्वाचन गराए। 

उक्त निर्वाचनमा कांग्रेसले बहुमत ल्यायो। २०५७ सालमा आफ्नै पार्टीका असन्तुष्ट पक्षको अविश्वासको प्रस्ताबका कारण प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको राजीनामा पश्चात गिरिजाप्रसाद तेस्रो पटक प्रधानमन्त्री भए। दरबार हत्याकाण्ड कोइरालाकै कार्यकाल भयो। उनले पहिलो पटक माओवादी विद्रोहविरुद्ध नेपाली सेना परिचालन गर्ने असफल प्रयास गरेका थिए। 

रोल्पाको होलेरीमा तत्कालिन माओवादीले आक्रमण गरेपछि राजा ज्ञानेन्द्रले सेना परिचालन गर्न नमान्दा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिए। २०६३ बैशाख ११ को दोस्रो जनआन्दोलनपछि प्रतिनिधि सभाको पुनर्बहाली भयो। कोइराला २०६३ बैशाख १२ गते पुनः चौथो कार्यकालका लागि नेपालका प्रधानमन्त्री बनाइए। सेना परिचालन र प्रतिनिधि सभा पुर्नस्थापनाको अडान गिरिजाप्रसादका इतिहासका सम्झना योग्य कदम हुन्। उनका यी दुई अडान नेपाली जनताको मनमस्तिक सँधै रहिरहनेछ। 

१० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए। ०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट बिरोधी भनेर चिनिने गिरिजाप्रसादले २०६२ सालमा कम्युनिष्टसँग हातेमालो गर्न बाध्य हुनु पर्‍यो। युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर गिरिजा कोइरालाको व्यक्तित्वका अगाडि त्यो आलोचना छायामा नै रह्यो। संवैधानिक राजतन्त्रका पक्षपोषक गिरिजाप्रसाद कोइरालाले नै डेढ सय वर्ष पुरानो राजतन्त्रका विरुद्ध आन्दोलनको अगुवाइ गर्न पुगे, कम्युनिस्टहरूको साथबाट उनको नेतृत्व सफल भयो र राजतन्त्रका अन्त्य भयो। २०४६ सालपछि  पनि कोइराला नेपाली राजनीतिको केन्द्र भागमा  रहिरहे।

प्रतिक्रिया

सम्बन्धित खवर