८ कार्तिक २०८३, शनिबार

कांग्रेसले लखेट्यो भने एमालेसँग पनि तालमेल हुन सक्छ : प्रचण्ड

  • ४ चैत २०७८, शुक्रबार
Image

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा तालमेलको विषय नेपाली कांग्रेसको व्यवहारमाथि भर पर्ने बताएका छन्।

बिहीबार रुपन्देहीमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले तत्काल एमालेसँग सहकार्य र तालमेल हुने सम्भावना आफूले नदेखेको भन्दै दाहालले नेपाली कांग्रेसको व्यवहारमाथि भर पर्ने बताएका हुन्।

प्रचण्डले कांग्रेसको मूल नेतृत्व हालकै गठबन्धन जोगाउने पक्षमा रहे पनि केही नेताहरू अतिवादी ढङ्गले प्रस्तुत भइरहेकाले राजनीति सम्भावनाको खेल पनि भएकाले त्यो सम्भावना पनि बाँकी रहेको बताए।

उनले भने,'अहिले हामी पाँच दलको गठबन्धनमा छौँ। सरकार पनि त्यसरी नै चलिरहेको छ। त्यसकारण तत्काल एमालेसँग तालमेल या गठबन्धन गर्ने सम्भावना हामीले देखेको छैनौ। हुन त देशका अगाडि गम्भीर समस्या आएपछि हामी माओवादी सङ्कटको निकास दिन जतिसुकै तितो मिठो भए पनि सहज ढङ्गले छलफल गर्ने र समझदारी बनाएर निकास निकाल्ने कोशिस गरेका छौँ।'

चुनावी तालमेलबारे कांग्रेसका केही नेताको टिप्पणीबारे पनि प्रचण्डले असन्तुष्टि जनाए। 'नेपाली कांग्रेसका केही नेताहरू भन्ने गर्छन् नि माओवादीसँग कुनै हालतमा तालमेल गरिँदैन। हुनै सक्दैन भन्ने ढङ्गले असाध्यै अतिवादी ढङ्गबाट बोल्ने केही नेता देखिनुभएको छ', प्रचण्डले भने,'हुन त प्रधानमन्त्रीले उहाँहरूलाई अब बोल्न बन्द गर भनिसक्नुभएको छ। कांग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन। तर नेतृत्व मुख्यतः प्रधानमन्त्री यो गठबन्धन हर हालतमा बचाएर लैजानुपर्छ, मिलेरै जानुपर्छ भन्नेमा भएकाले मैले भनेजस्तो अवस्था आउला भन्ने मैले देखेको छैन।'

एमसीसीको समस्या समाधानका लागि आफू र नारायणकाजी केपी शर्मा ओलीसँग छलफल गर्न गएको ‌औंल्याउँदै उनले ओलीमा कहीँ कतै देशप्रति चिन्ता नदेखिएको बताए।

'देश अप्ठेरो पर्‍यो, निकास दिन पर्‍यो भनेर भन्दा त्यसका निम्ति ओलीको पहलकदमी पनि देखिएन, बडो निष्क्रिय देखिनुभयो।' यति पूर्वाग्रही र निषेधात्मक सोच भएकासँग कुरा गर्न पनि किन आइएछ भनेजस्तो लागेको उनले सुनाए। 

प्रतिक्रिया

सम्बन्धित खवर