काठमाडौं- नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारहरुको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ।
निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आइतबार अन्तिम दिन हो। निर्वाचन आयोगको तालिका अनुसार समानुपातिकको बन्दसूची संशोधन गर्ने मिति असोज १० गतेदेखि असोज १६ गते साँझ ५ बजेसम्म छ। उक्त सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ।
प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङ शेर्पाको नाम हटाइएको छ। संशोधित सूचीमा आफ्नो नाम हटाइएको जानकारी शेर्पा आफैंले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
‘म नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारबाट हटेको छु’, शेर्पाले भनेका छन्, ‘मेरो ३७ वर्षदेखिको आस्थाचाहिँ निरन्तर रहनेछ।’
शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष पनि हुन्।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ। आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको एक जना पदाधिकारीले जानकारी दिए।
निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन हो। सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation