काठमाडौं- फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। हरेक वर्ष महाशिवरात्री मेला लाग्ने पशुपतिमा विगतका दुई वर्ष कोरोना महामारीका कारण तुलनात्मक रूपमा चहलपहल कम भएपनि यस वर्ष भने रौनक सुरु भएको छ।
थुप्रै साधुसन्त आइसकेको र केही साधुहरू अझ पनि आउने क्रम जारी रहेको कोषको भनाइ छ। प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा नेपाल, भारतलगायत विश्वका विभिन्न स्थानबाट साधु-सन्त तथा भक्तहरू पशुपतिमा आउने गर्छन्। साधुसन्तका साथै नागाबाबाहरुको संख्या पनि उल्लेख्य छ।
महाशिवरात्रीका लागि आएका बाबाहरूलाई औँसीका दिन दक्षिणासहित बिदाइ गर्ने परम्परा छ। साधुसन्तहरूले अखडामा धुनी जगाएका छन्।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन्। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।
माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्री मनाउने गरिएको हो भन्ने भनाइ छ।














© Lok Kalam . Designed and Developed by Goldenmud Creation