काठमाडौं । टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले सेमिफाइनलमा मंगलबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ। २०२२ को अन्तिममा अष्ट्रेलियामा हुने विश्वकपमा छनोटका लागि जित्नै पर्ने यो खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ।
ओमानको मस्कटमा यूएईले टस जितेर ब्याटिङ रोजेको पछि नेपालले बलिङ गर्ने भएको हो ।नेपालले समूह चरणका तीनै खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो भने यूएई २ खेल जित्दै उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो । नेपाल टोलीमा एकमात्र परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अर्का अलराउन्डर विवेक यादवलाई राखिएको छ । यस खेलमा जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० कपमा पुग्ने छ । दुबै टोली ८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् ।
नेपाल र यूएई दुबैले पछिल्लो पटक २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेका थिए । त्यसयता दुबै टोली पहिलो पटक ट्वान्टी–२० विश्वकप पुग्ने प्रयासमा छन्। यसअघि नेपाल र यूएईबीच ४ खेल भएका छन् । तीमध्ये २ मा नेपालले जितेको छ भने २ मा यूएई विजयी भएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation