काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले तोकिएको मितिमा नै निर्वाचन हुने बताएका छन् । शुक्रबार भैरहवामा एक विद्यालयको भवन शिलान्यास गर्दै गृहमन्त्री खाँणले तोकिएको मितिमा निर्वाचन हुन्न कि भन्ने भ्रम नराख्न आग्रह गरेका हुन् ।
उनले भने, ‘सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा तोकिएकै समयमा निर्वाचन गराउँछ ।’ सरकारले आगामी वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचन आउन अब ७० दिन बाँकी रहेकोले निर्वाचन सोही समयमा सम्पन्न हुने उनले बताए। खाणले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने दावीसमेत गरे । उनले त्यसका लागि सबै राजनीतिक दलहरूले स्वस्थ प्रतिस्पर्धा गर्ने सरकारको विश्वास रहेको बताए । गृहमन्त्री खाणले राष्ट्रिय राजनीतिको मूल धारमा नआएका दलहरूलाई पनि मूल धारमा आउन आग्रह गरे ।
‘गणतान्त्रिक शासन व्यवस्थामा जनता नै केन्द्रबिन्दु भएकाले आगामी निर्वाचनमा सबै दल जनतामाझ जाने विश्वास सरकारको छ’– उनले भने–‘तर कुनै पनि बहानामा हिंसा र द्वन्द्वलाई स्वीकार्न सक्दैन ।’ उनले हिंसा फैलाउने गतिविधि नगर्न सबैलाई आग्रहसमेत गरे । अर्को प्रसङ्गमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी नितान्त विकास आयोजना भएको तर्क गर्दै यो सम्झौता लागू हुँदैमा नेपाली भूमि मित्र राष्ट्रविरुद्ध प्रयोग नहुने बताए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation