१४ जेठ २०८१, सोमबार

पर्यटकीय क्षेत्रमा विद्युत सेवा अवरूद्ध

  • ८ फागुन २०८०, मङ्गलबार
Image

२०८० फागुन ०८ मंगलबार 

काठमाडौं- पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा गत माघ २२ गते आएको हावाहुरीले ढलेको रूखले खुम्बु विद्युत कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत सेवा अवरूद्ध बनेको छ।

यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका हुन्


पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्यांक अनुसार खुम्बुमा याम सुरू भएकाले अहिले दैनिक एक सय हाराहारीमा विदेशी पर्यटक खुम्बु पुग्ने गरेका

अहिले सो क्षेत्रमा सञ्चार सेवा ठप्प बनेको छ भने एटिएम सेवासमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक कविन राईले बताए। अधिकांश विदेशी नगदका लागि एटिएममा निर्भर हुने भएकाले विद्युतका कारण एटिएम नै अवरूद्ध हुँदा समस्या देखिएको पर्यटन व्यवसायीले जानकारी दिएका छन

नाम्चेमा विद्युत सेवा नभएपछि सो क्षेत्रमा पुगेका पर्यटकसमेत बिचल्लीमा पर्ने गरेको प्रहरी निरीक्षक राईले बताए।

विद्युतको भरमा सबै सेवा सञ्चालन हुने भएकाले विद्युत नहुनेबित्तिकै काम प्रभावित हुने गरेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ।


'जिल्लामा रिपोर्टिङ गर्ने काम धेरै हुने भएकाले समस्या भएको छ, हाम्रो सञ्चार सेवा पनि अहिले अवरूद्ध छ, विद्युत नभएर मोबाइल चार्ज गर्न नपाएर सबै ठप्प छ, जिल्लामा रिपोर्टिङ गर्नका लागि अहिले हामी एक दिनको पैदल दूरीमा पर्ने लुक्ला झर्नुपर्ने बाध्यता छ,' उनले भने।

विश्वको पर्यटकको ध्यान केन्द्रित हुने ठाउँ भएकाले आफूहरूले निगरानीमा राखेको भए पनि नाम्चेमा विद्युत नहुँदा समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले बताए।

उनले भने, 'नाम्चे क्षेत्रमा हामीले दुई हप्तादेखि सञ्चार सम्पर्क गर्न पाएका छैनौं निकै कठिन भइरहेको छ, अझ त्यहाँ पुग्ने पर्यटकको अवस्था के होला? कल्पनाभन्दा बाहिरको कुरा छ।' विद्युतको जमिनमाथिको भागको लाइन मर्मतमा समस्या नरहे पनि जमिनमुनिको तारमा समस्या देखिएको खुम्बु बिजुली कम्पनीका कर्मचारी सोनाम दोर्जी शेर्पाले बताए।

चिसोका कारण जमिन जमेकाले तार फुट्ने तथा भाँचिने गरेकाले समस्या भएको उनले बताए।


उनले भने, 'हामी प्रयासरत छौं, हावाहुरीले रूख ढाल्दा खुम्बु भ्याली र नाम्चे भ्याली क्षेत्रको छ–सात ठाउँको लाइनमा क्षति पुगेको थियो। जमिनमाथिको तारको समस्या समाधान भयो तर जमिनमुनिको तारमा देखिएको समस्या हल हुन समय लाग्यो, समस्या समाधान हुन अझै करिब आठ–दश दिन लाग्छ।

विद्युत अवरूद्ध हुनेबित्तिकै टेलिफोन सेवासमेत अवरूद्ध हुँदा खुम्बु–काठमाडौं सम्पर्कमा समस्या भएको उनले बताए। सन् १९९३ मा निर्माण गरिएको नौ सय ३० किलोवाट क्षमताको उक्त खुम्बु बिजुली कम्पनीको नौ सय ४० घरधुरी उपभोक्ता रहेका छन्। 

जमिनमुनिको करिब सात सय ५० मिटर तार फेर्नुपर्ने भएको कम्पनीले जनाएको छ। काठमाडौंबाट खुम्बु तार ढुवानी गर्न लैजान सिलिङ उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरिरहेको कम्पनी कर्मचारी शेर्पाले बताए।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर