काठमाडौं- 'क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो। आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेका छन्,' बुधवार राजधानीमा आयोजना भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै नागरिक उड्डयन, पर्यटन तथा संस्कृतीमन्त्री सुदन किराँतीले भने।
उनको यो अभिव्यक्ति नै संविधानविरुद्ध रहेको छ। उनले यस अभिव्यक्तिले सनातनी धर्मालम्बीहरुलाई चोट पुर्याएको छ। नेपालको संविधानको धारा ४ मा भनिएको छ, 'नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।'
'यस धाराको प्रयोजनको लागि 'धर्मनिरपेक्ष' भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ,' स्पष्टिकरणमा भनिएको छ।
उनले विश्वमा धार्मिक जनसङ्ख्या ८५ प्रतिशत रहेको ३० प्रतिशत क्रिश्चियन रहेको उल्लेख गर्दै संसार मान्ने अनि हामीले नमान्ने भन्दै प्रश्न गरेका थिए। क्रिश्चियन नमान्नलाई हत्कडी लगाउने अधिकार मन्त्री किराँतीलाई कसले दियो? संविधानका प्रावधानविपरीत अभिव्यक्ति दिने किराँतीलाई मन्त्रीमा रहिरहने अधिकार छैन र उनलाई हत्कडी किन नलगाउने?
मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्ने देशद्रोही भनेको भन्दै आलोचना सुरु भएको छ। कमल थापादेखि नयाँ राजनीति सुरुवात गर्ने भनेका रवि लामिछानेसम्मले उनको आलोचना गरेका छन्।
‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्, ‘यस्तो गैर(जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस्।’
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले किराँतीलाई बर्खास्त गर्न माग गरेका छन्। क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने अभिव्यक्ति मन्त्री किराँतीले दिएको भन्दै थापाले उनलाई बर्खास्त गर्न माग गरेका हुन्।
‘क्रिश्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यान जाओस्।'
© Lok Kalam . Designed and Developed by Goldenmud Creation