काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको
अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले
आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम आयोजना गरेर राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ।
२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र
स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने
गरिन्छ ।
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र
क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि
प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ ।
तर गणतन्त्र स्थापना पछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको हो।अहिले नेपाली
कांग्रेससहितको गठबन्धन सरकारले भने तीन दिनसम्म विविध कार्यक्रमका साथ
प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
प्रजातन्त्र दिवस मूल समारोह समितिले गरेको
निर्णय अनुसार आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत
जनचेतनामूलक कार्यक्रम निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइने भएको
छ।
फागुन ६ गते नै राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका
उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर
गर्ने र विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय पनि
बैठकले गरेको हो ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका
कार्यालयका छत, बरण्डा र परिसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर
जस्ता क्षेत्र एवं घर-घरमा दीप प्रज्ज्वलन गरिनेछ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation