काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सोमबार सम्बोधन गर्दै केन्द्रीय सदस्य समेत रहेका कार्कीले गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र देशलाई समृद्धिको बाटोमा अघि बढाउनु रहेको प्रष्ट पारेका हुन् ।
सञ्चार मन्त्री कार्कीले अब तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर लोकतन्त्रलाई अझ सुदृढ र समृद्धिको यात्रालाई अझ सहज बनाउनुपर्ने महत्त्वपूर्ण कार्यभार रहेको पनि स्मरण गराए । उनले त्यो कार्यभार सम्पन्न गर्नका लागि गठबन्धनबीचको सहकार्य र सहयात्रा आवश्यक रहेको बताउँदै त्यसका लागि कांग्रेसको अगुवाइ तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अभिभावकीय नेतृत्वबाट मात्रै सम्भव हुने जिकिर गरे।
मन्त्री कार्कीले अत्यन्त विशिष्ट परिस्थितिमा विशिष्ट उद्देश्यका लागि यो गठबन्धन स्थापना भएको बताउँदै यसको अभिप्राय सत्ता प्राप्ति नरहेको उल्लेख गरे। उनले भने, ‘मुलुकको राजनीतिलाई नियमित लिकमा फर्काउने, आवधिक निर्वाचनलाई सुनिश्चित गरेर मुलुकलाई राजनीतिक स्थिरतातर्फ उन्मुख गराउने र देशलाई समृद्धिको बाटोमा हिँडाउनु नै गठबन्धनको खास उद्देश्य थियो। अहिले पनि हाम्रो यात्रा त्यही उद्देश्यबाट निर्देशित छ।’
उनले गठबन्धनको स्थापनासँगै मुलुकले भोगिरहेको जटिल र गहिरो सङ्क्रमणको अन्त्य भएको उल्लेख गर्दै सम्भावित अस्थिरताको डरलाग्दो श्रृङ्खलाको भय पनि समाप्त भएको बताए । उनले भने, ‘मुलुक लिकमा फर्कियो । यतिबेला स्थिर सरकारको प्रभावकारितासँगै आमजनताले पनि सहजताको महसुस गर्न थालेका छन्।’अहिले कांग्रेसले पाएको जिम्मेवारी सामान्य नरहेको बताउँदै मन्त्री कार्कीले यो सिङ्गो मुलुकले सुम्पेको निकै विशिष्ट प्रकारको जिम्मेवारी रहेको पनि उल्लेख गरे।
उनले भने, ‘कांग्रेसको अगुवाइ र सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वलाई पाँच दलले मात्र होइन, सिङ्गो मुलुकले पनि स्वीकारेको छ। र, विश्वास गरेको छ। यो ऐतिहासिक अवसर पनि हो।’ उनले यो विशिष्ट जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई पुरानै बलियो अवस्थामा फर्काउने र मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक उन्नतितिर डोर्याउने लक्ष्यका साथ अझै एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
सञ्चारमन्त्री कार्कीले जस्तोसुकै कठिन र असहज परिस्थितिमा नेतृत्वदायी भूमिका निर्वाह गरेर मुलुकलाई सही दिशा प्रदान गर्न सक्ने प्रधानमन्त्री देउवाको उच्चस्तरको राजनीतिक सुझबुझ, परिपक्व एवम् दूरदर्शी नेतृत्व र अभिभावकीय भूमिकालाई यतिबेला सिंगो मुलुकले सराहना गरेको प्रष्ट पारे । साथै यो सिङ्गो कांग्रेसका लागि महत्त्वपूर्ण पुँजी भएको उनले उल्लेख गरे।
सरकारले कारोना संक्रमणको रोकथामसँगै सुशासन स्थापना र समृद्धिको दिशामा थुप्रै महत्त्वपूर्ण काम गरेको बताउँदै मन्त्री कार्कीले राज्य संयन्त्र र संवैधानिक निकाय भूमिकासमेत राजनीतिक छायाले थिचिएको, राज्य पद्दति खलबलिएको र राज्य संयन्त्र पनि प्रभावहीन बन्दै गएको असहज अवस्थाको अन्त्य भएको धारणा राखे। मन्त्री कार्कीले सत्ता साझेदार दलको साझा उद्देश्य रहेको बताउँदै आपसी सहमति र विश्वासका साथ अघि बढिरहेको स्पष्ट पारे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation