काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति सरकारले लिएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा उनले विगतमा अनुदानको सही उपयोग हुन नसकेकाले सरकारले सिधै किसानसम्म अनुदान पुर्याउने नीति लिएको बताए।
उनले भने, “विगतमा अर्बौं अरबका अनुदानका कार्यक्रम बने। तर, तिनीहरूको सही सदुपयोग हुन सकेन। जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो। त्यो एक प्रकारले बालुवामा पानी हालेजस्तै भयो । विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्ने गरी अनुदान दिने नीति लिएको छ।”
प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किएको जनशक्ति, पूँजी र सीपलाई एकीकृतरूपमा परिचालन गर्ने नीति र योजना पनि सरकारले बनाएको बताए।
“विशिष्ट परिस्थितिमा गुज्रिएर नेपाल फर्किएका साथीहरूको पहलमा यो भेला हुँदैछ, यसले सङ्गठनको काम मात्र गर्ने छैन”, उनले भने, “प्रकृतिले दिएको साधन स्रोतका दृष्टिले हामी गरिब छैनौँ, हामी धेरै धनी छौँ । हामीसँग जमिन, जङ्गल, हिमाल, जडीबुटी, जलविद्युत्को उत्पादन र सदुपयोगमार्फत निर्यातमुखी अर्थतन्त्रको विकास गर्नसक्ने प्रचुर सम्भावना छ। तर, त्यसको सही सदुपयोग गर्नुपर्ने चुनौती हाम्रासामु छ।”
आफूले यसपटक विगतभन्दा फरक ढङ्गले काम गरिरहेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले विगतभन्दा फरक, तत्परताका साथ काममा लागेको बताए। सरकार भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत भएको भन्दै प्रचण्डले बेथिति नियन्त्रणमा दृढ रहेको बताए।
‘सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको छ। हामीकहाँ भएको फोहोरको थुप्रै सफा गर्नु छ,' उनले भने, 'नक्कली भुटानी शरणार्थी प्रकरण एउटा उदाहरण मात्रै हो, यस्ता थुप्रै बेथिति छन्, तिनीहरू पनि नियन्त्रण गर्नु छ। हामी यसमा दृढतापूर्वक अगाडि बढ्छौँ।’
उत्पादन र रोजगारी नै अहिलेको मुख्य आवश्यकता भएको बताउँदै उनले यसबाट मात्रै समाजवादको आधार निर्माण गर्न सकिने उल्लेख गरे। यसपटकको नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी र कृषिलाई सबैभन्दा उच्च महत्त्व दिइएको उनको भनाइ छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation