८ कार्तिक २०८३, शनिबार

सरकारले आजदेखि कर्मचारी सरुवा, पदस्थापनदेखि राजनीतिक नियुक्ति गर्न नपाउने

  • २० भदौ २०७९, सोमबार
Image

काठमाडौं- सरकारले आजदेखि कर्मचारी सरुवा,पदस्थापनादेखि राजनीतिक नियुक्तिसम्मका निर्णय गर्न नपाउने भएको छ। ४ मंसिरको चुनाव सरकारी निर्णयबाट प्रभावित नहोस् भन्नका लागि निर्वाचन आयोगले २० भदौसम्मको समयसीमा तोकेको थियो।

चुनाव सुरु हुनुभन्दा साढे दुई महिना पहिलादेखि आयोगले सरकारी निर्णयमा अंकुश लगाएको हो। सत्तामा रहेर चुनाव प्रभावित पार्ने चलखेल हुने भन्दै कर्मचारी सरुवा तथा राजनीतिक नियुक्तिमात्र होइन, चुनाव केन्द्रीत शिलान्याश र उद्घाटनमा समेत रोक लगाएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारलाई २० भदौभित्र कर्मचारी सरुवा तथा नियुक्तिको निर्णय सक्न निर्देशन दिएको बताए। सरकारले अनुकूलको सीडीओ, जिल्ला प्रहरी प्रमुखलगायतका सरुवा गर्दा चुनाव प्रभावित हुनसक्ने आंशका गरिन्छ। सोही कारण सरकारलाई अंकुश लगाउने प्रयास गरिन्छ।

त्यसो त चुनाव प्रभावित गर्नकै लागि राजनीतिक नियुक्ति हुने आंशकाले पनि उक्त निर्णयमा रोक लगाइएको हो। चुनावको सम्मुखमा कार्यकर्ता नियुक्तिको लहर नै चल्ने गरेको हुन्छ।

सरकारले चुनावी प्रयोजनका लागि अतिआवश्यक परेमा वा चुनावलाई कुनै प्रभाव नपार्ने भएमा आयोगको सहमतिमा कर्मचारी सरुवा र राजनीतिक नियुक्ति भने गर्न सक्ने व्यवस्था छ। आजदेखि मन्त्रिपरिषद्ले चुनाव प्रभाव पार्ने गरी कुनै निर्णय गरे त्यसमा आयोगले प्रश्न गर्छ। 


प्रतिक्रिया

सम्बन्धित खवर