९ कार्तिक २०८३, आइतबार

दुई करोड बराबरको रक्तचन्दनको तेलसहित चुच्चेपाटीबाट ८ जना पक्राउ

  • १४ जेठ २०८०, आइतबार
Image

काठमाडौं- दुई करोड रुपैयाँ बराबरको रक्तचन्दनको तेलसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं चुच्चेपाटीबाट ८ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं चाबहिलका ३० वर्षीय सुशील पाठक, कालीकोटको रासकोट नगरपालिका–८ घर भइ चाबहिल बस्दै आएका २८ वर्षीय बिनोद बराल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१५ घर भइ काठमाडौं कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ घर भइ काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय गोकर्णहरि दाहाल र सोही ठाउँका ३५ वर्षीय नवीन दाहाल छन्।

त्यसैगरी बाँकेको कोहलपुर नगरपालिका–११ घर भइ चाबहिल बस्ने ५८ वर्षीय निलकान्त भुसाल, धादिङको निलकण्ठ नगरपालिका–९ घर भइ काठमाडौं जडिबुटी बस्ने ६३ वर्षीय मोबहनबहादुर विश्वकर्मा र सोलुखुम्बुको माप्युदूधकोशी गाउँपालिका–६ घर भइ काठमाडौं महांकाल बस्ने ४० वर्षीय खेमराज घिमिरे छन्।

उनीहरुबाट ८ सय लिटर रक्तचन्दनको तेल बरामद भएको छ। प्रतिलिटर २ लाख ५० हजार रुपैयाँका दरले रक्तचन्दनको तेल बिक्री हुन लागेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले बताए। पक्राउ परेका आठै जनालाई कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर