काठमाडौं- राष्ट्रपति भवन शीतल निवासमा शारीरिक रुपमा अशक्त एक वृद्धा अग्लो ठाउँमा रहेको मञ्चतर्फ अगाडि बढ्न खोज्दै थिइन्। यो दृश्य देख्नासाथ राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट ओर्लन खोजे।
त्यहीबेला त्यहाँ रहेका सुरक्षा अधिकारीले राष्ट्रपति त्यसरी जान नमिल्ने संकेत गर्दै थिए। तर राष्ट्रपति पौडेलले त्यसलाई मानेनन् र तलै ओर्लेर ती अशक्त वृद्धालाई पदक दिए।

यो दृश्य देखिरहेका पदक लिन आउनेमध्ये एक जनाले यस्तो टिप्पणी गर्दै थिए, ‘जनताको छोरो राष्ट्रपति भएको अनुभूति हुने व्यवहार सधैँ सबैले गरे हुन्थ्यो।’ ती वृद्ध पुरुष मात्र होइन शारीरिक रुपमा अशक्त भएका वृद्धवृद्धालाई राष्ट्रपति पौडेलले मञ्चबाट तल ओर्लेर सहजै पदक प्रदान गरेका थिए। राष्ट्रपतिको यो व्यवहारको प्रसंशा भएको छ।

शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र २०५ जनालाई जनसेवाश्री प्रदान गरे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation