काठमाडौं- सत्तागठबन्धनका दलहरुले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा आफ्ना आधिकारीक उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन्।
गठबन्धन दलका शीर्ष नेताहरुले आज एक विज्ञप्तिमार्फत गठबन्धनमा रहेका दलका सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी आफ्ना उम्मेदवारलाई विजयी गराउनका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई व्यापकरुपमा परिचालन गर्न आह्वान गरेका हुन्।
यसका लागि गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक सङ्घ, संस्था/सङ्गठनका सदस्य तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्नसमेत आग्रह गरिएको छ।
गठबन्धन दलका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवको उम्मेदवारी दर्ता भइसकेको छ।
गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पङ्क्ति एकीकृतरुपमा परिचालित हुन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation