९ कार्तिक २०८३, आइतबार

कांग्रेस परित्याग गरेको स्वर्णिम वाग्लेको घोषणा

  • १६ चैत २०७९, बिहिबार
Image

काठमाडौं- अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गरेका छन्। उनले कांग्रेसबाट अलग भएको औपचारिक घोषणा गर्दै बलियो वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताए। वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ १ मा उपनिर्वाचन लड्ने चर्चा छ। यसबारे वाग्लेले केही खुलाएका छैनन्।

वाग्लेले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन्।

‘अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ’ उनले लेखेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु।’

पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको वाग्लेले उल्लेख गरेका छन्।

‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ’, उनले भनेका छन्।

कांग्रेसमा ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा रहेर आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा काम गरेको वाग्लेले बताएका छन्। राष्ट्रिय योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवाले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गरेको उनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर