काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थालाई दूरदराजमा पुर्याउन आवश्यक रहेको बताएका छन्।
‘लायन्स क्लब डिष्ट्रिक्ट-३२५ जे’को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक सङ्घ संस्थाले ग्रामीण क्षेत्रमा पुगेर सेवा दिनुपर्ने उल्लेख गरे।
प्रधानमन्त्री दाहालले भने- “शहरकेन्द्रित शैक्षिक युवामा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति रूचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्याउनसक्ने विपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशीलगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीहरुको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ।”
सो अवसरमा प्रधानमन्त्री दाहालले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौती छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पबद्ध रहेको बताए।
सन् १९१७ मा मेल्भिन जोन्सले स्थापना गरेको लायन्स क्लब अन्तर्राष्ट्रियको प्रभाव विश्वव्यापी छ। नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा लायन्स क्लब अफ विराटनगर स्थापना भएको पाइन्छ। त्यही ऐतिहासिक पृष्ठभूमिको जगमा उभिएर नेपालमा लायन्स क्लबले सामाजिक क्षेत्रमा विविध गतिविधि गर्दै आएको छ।
हाल नेपालमा लायन्सका १५ डिस्ट्रिक्ट र ५० हजारभन्दा बढी सदस्य छन्। यस महाधिवेशनले सामाजिक सेवाका क्षेत्रमा आफूलाई थप परिस्कृत र परिमार्जित गर्दै अगाडि बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
उनले भने- “राजनीतिक एवं शैक्षिकरूपले चेतनशील र जागरूक युवाको विशेष सक्रियतामा लायन्स क्लबले देशभरि विभिन्न सामाजिक एवम् मानवीय कार्यको नेतृत्व गरिरहेको छ। खासगरी कोभिड-१९ महामारी, महाभूकम्पजस्ता राष्ट्रिय बिपत्तिमा लायन्सले आफूलाई अग्रमोर्चामा उभ्याउँदै सामाजिक जिम्मेवारी पूरा गरिरहेको छ।”
देशको विकास र समृद्धिको आकांक्षा राख्ने युवाका निम्ति प्रेरणाको विषय मात्र नभएर देश निर्माणको अग्रमोर्चामा अग्रसर राजनीतिकर्मीका लागि समेत लायन्स गौरवको विषय भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे।
उनले भने, “लोकतान्त्रिक राज्यप्रणालीमा राज्य र नागरिकको बलियो सहकार्यका आधारमा नै समाज सेवा र सामाजिक रूपान्तरणका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्न सकिन्छ। राज्य र नागरिकको बलियो एकता नै लोकतन्त्रको त्यस्तो आधारस्तम्भ हो।” उनले राज्यप्रति नागरिकको अपनत्वबोध गराउने र सामाजिक आन्दोलनलाई राज्यको नीति निर्माणसँग जोड्न सफल हुने बताए।
प्रधानमन्त्री दाहालले भने- “राजनीति सबै नीतिको केन्द्र हुनुका नाताले सामाजिक जीवनका सम्पूर्ण क्षेत्रमा राजनीतिको केन्द्रीय भूमिका रहन्छ। हामीले राजनीतिलाई जति आदर्शवान, मर्यादित, नैतिक र जनमुखी बनाउन सक्छौँ, सामाजिक जीवनका अन्य क्षेत्रसमेत त्यसरी नै जिम्मेवार र उत्तरदायी बन्दै जान्छन्। यसका लागि राजनीतिमा देश र जनताको परिवर्तन र सामाजिक रूपान्तरणका निम्ति केही गर्ने संकल्प बोकेका युवाको संलग्नता र नेतृत्व अपरिहार्य रहन्छ।”
सिद्धान्तनिष्ठ, विचारकेन्द्रित, शिक्षित, अनुशासित, राष्ट्र र जनताको जिम्मेवारीबोधले ओतप्रोत युवा शक्तिले मात्र आजको परिस्थितिमा राष्ट्र निर्माणको ऐतिहासिक दायित्व बोध गर्न सक्ने उनको प्रष्टोक्ति छ। लायन्सले राष्ट्रिय विपत्तिका हरेक घडीमा आफूलाई अग्रमोर्चामा उभ्याएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रशंसा गरे।
उनले भने- “शैक्षिक एवम् सामाजिक गतिविधिमा अग्रसर भएको छ, जनचेतना र सामाजिक रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, अर्थतन्त्र चलायमान बनाउन एवम् आत्मनिर्भर र व्यवसायी युवा निर्माणका लागिसमेत उत्प्रेरित गरिरहेको छ। यो आफैमा महत्वपूर्ण कुरा हो।”
© Lok Kalam . Designed and Developed by Goldenmud Creation