८ कार्तिक २०८३, शनिबार

सुवास नेम्वाङलाई हराउँदै रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

  • २५ फागुन २०७९, बिहिबार
Image

काठमाडौं- राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनबाट एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै ७८ वर्षीय पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेल ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भए।

उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन्। पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए। अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए।

उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए। संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए। 

राष्ट्रपति पदको मतदानका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो।  


प्रतिक्रिया

सम्बन्धित खवर