२३ वैशाख २०८१, आइतबार

आईसीसी लिग २ : पीएनजीसँग यूएई पराजित

  • २१ फागुन २०७९, आइतबार
Image

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आइतबार पपुवा न्युगिनी (पीएनजी)ले घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई)लाई पाँच विकेटले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको ९७ रनको झिनो लक्ष्य पीएनजीले २६.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो। त्यसअघि, पीएनजीका रिले हाकुरेले घातक बलिङ गरेपछि टस हारेर ब्याटिङमा आएको यूएई २६.२ ओभरमा ९७ रनमा समेटिएको थियो। 

पीएनजीको जितमा ओपनर टोनी उराले अविजित ३५ रन बनाए। उनले ६३ बलमा तीन चौका प्रहार गरे। सेसे बाउले १८ र हिरी हिरीले १४ रन थप्दा चाड सोपेर आठ रनमा अविजित रहे। यूएईका रोहन मुस्तफाले दुई विकेट लिए। आयान अफ्जल खान, जहुर खान र जुनैद सिद्दिकीले समान एक विकेट लिए।

त्यसअघि, पीएनजीको बलिङसामु निरीह देखिएको यूएईका लागि भ्रित्या अरविन्दले २६ रन बनाएका थिए। ओपनर मुहम्मद वसिमले १९ रन थप्दा आसिफ खानले ११ र कप्तान सिपी रिजवानले १० रन जोडे। यसबाहेक यूएईका अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यूएईका रोहन मुस्तफा, आर्यन लक्रा, जुनैद सिद्दिकी र आयान अफजल खान खाता पनि नखोली पभेलियन फर्किएका थिए। घरेलु टिमलाई झिनो योगफलमा रोक्न पीएनजीका हाकुरेले पाँच विकेट लिए । हाकुरेले ४.२ ओभरमा एक मेडर राख्दै १३ रन मात्र खर्चिए।

हाकुरेले एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा पाँच विकेट लिएको यो पहिलोपटक हो। चाड सोपेरले तीन र चार्ल्स एमिनीले एक विकेट झारे। शृंखलामा पीएनजीको यो अन्तिम खेल हो। यूएईले भोलि (सोमबार) नेपालसँग शृंखलाको अन्तिम खेल खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर