९ कार्तिक २०८३, आइतबार

नेपालको लगातार दोस्रो जित, कुवेत फराकिलो अन्तरले पराजित

  • १३ फागुन २०७९, शनिबार
Image

काठमाडौं- नेपालले आईसीसी यू-१९ विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटमा लगातार दोस्रो जित निकालेको छ। शनिबार भएको खेलमा नेपालले कुवेतलाई २४३ रनको विशाल अन्तरले पराजित गरेको हो।

३४४ रनको ठूलो योगफल पछ्याउँदै ब्याटिङ गरेको कुवेतले ३०.५ ओभरमा सबै विकेटको क्षतिमा १०० रन मात्रै बनाएपछि नेपालले फराकिलो जित निकालेको हो। कुवेतका लागि तीन खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाउन सके। कुवेतका जुड क्रिस्टफर सल्धनाले २६, युसुफ सदिकले १९ र किशोरेभाई हिन्सुले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा पनि रन बनाउन सकेनन् ।

कुवेतका ब्याटरलाई सस्तैमा समेट्ने क्रममा नेपालका आकाश चन्द एक्लैले ६ विकेट लिए। उनले ९.५ ओभर बलिङ गर्दै ४३ रन खर्चिएर ६ विकेट लिएका हुन् । त्यस्तै, हेमन्त धामी र दिपेश कँडेलले समान २-२ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३४३ रन बनाएको थियो।

नेपालको विशाल योगफलमा कप्तान देव खनाल र अर्जुन कुमालले शतक बनाए। कप्तान देवले ११७ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै १२५ रन बनाए। त्यस्तै, अर्का ब्याटर अर्जुन कुमालले ११२ बलमा १२ चौका प्रहार गर्दै १०८ रन बनाए।

त्यस्तै, विशाल विक्रम केसीले २३, दीपक प्रसाद डुम्रेले अविजित २०, दीपक बोहराले १९ र दीपक बोहराले १३ रन बनाए । बलिङतर्फ कुवेतका अर्श साहिल काज्मी र हेनरीले समान २-२ विकेट लिए।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।


प्रतिक्रिया

सम्बन्धित खवर