८ कार्तिक २०८३, शनिबार

फागुन १० भित्र अहिलेको सत्ता गठबन्धन भत्किन्छ : गगन थापा

  • १ फागुन २०७९, सोमबार
Image

रूपन्देही- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन दस दिनभित्र अहिलेको सत्ता गठबन्धन भत्किने बताएका छन्। नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर १ ले सोमबार तिलोत्तमा १५ कोटीहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

महामन्त्री थापाले भने, ‘पुसको १० गते निर्माण भएको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्छौं।’ महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेटविपरीत बनेको सत्ता गठबन्धन भत्काउने जिकिर गरे।

उनले निर्वाचन अगाडि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचनपछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा नैरास्यता छाएको उल्लेख गर्दै जनताको म्यान्डेट अनुसार सत्ता गठबन्धन बन्नुपर्ने बताए।

चुनावभन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभए पनि व्यवहारमा उच्च राजनीतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाइ छ।

नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहना अनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरे।


प्रतिक्रिया

सम्बन्धित खवर