काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव जनादेश र परमादेशबीचको जनमत संग्रह भएको बतएका छन्।
स्थानीय चुनाव सम्बन्धी रणनीति बनाउन बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले चुनाव जनादेश र परमादेशबीचको जनमत संग्रहको रुपमा हुन गइरहेकाले जसरी पनि जित्नै पर्ने बताएका छन्।
यो चुनाव सहज अवस्थानमा नभइरहेको उल्लेख गर्दै ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्,‘राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरूका बीचमा हुँदैछ। राजनीतिक स्थायित्व पक्षधर र अस्थिरताका संवाहकरूबीच हुँदैछ।'
ओलीले २१ पेज लामो प्रतिवेदनमा भनेका छन्,‘समृद्धि कि बर्बादी, लोकतान्त्रिक संस्थाहरूको रक्षा कि मानमर्दन बीचको छनोटका रूपमा हुँदैछ। यस निर्वाचनमा एकातिर जनताको विश्वासप्राप्त, गत निर्वाचनमा जनादेशप्राप्त, राष्ट्र र जनताका निम्ति असल काम गर्दागर्दै षडयन्त्रपूर्वक सरकारबाट विस्थापित गरिएको नेकपा (एमाले) छ, अर्कातिर निर्वाचनबाट किनारा लागेर पनि अदालतको जस्केलाबाट छिरेको दक्षिणपन्थी शक्ति तथा तिनका सहयोगी दलहरू छन्।’
उनले संवैधानिक कर्तव्य र स्वेच्छाले नभई जनदवावका कारण चुनावको मिति घोषणा गर्न बाध्य भएकोले सरकारको निर्वाचन प्रतिको प्रतिबद्धता पनि फितलो भएको बताएका छन्। निर्वाचनलाई तोकिएकै मितिमा, शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने कुरा सुनिश्चित गर्न चनाखो भएर खबरदारी गरिरहनु जरूरी रहेकोसमेत उनले औंल्याएका छन्।
निर्वाचन आयोगले आचारसंहितामा गरेको पुनः उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरूका लागि पदबाट राजीनामा दिनुपर्ने बाध्यकारी व्यवस्थाको ओलीले चर्को विरोध गरेका छन्।
उनले भनेका छन्, 'प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा सम्बन्धित तहको सरकारमा रहेका जनप्रतिनिधिहरूले उम्मेदवारी दिँदा राजीनामा दिनु नपर्ने तर स्थानीय तहका हकमा यस्तो बाध्यकारी व्यवस्था राखिनु विभेदपूर्ण र विरोधाभाषी छ।'
ओलीले संविधान र स्थानीय तह निर्वाचन ऐनले कार्यकारी, विधायिकी र न्यायिक गरी तीनवटै भूमिका खेल्ने स्थानीय तहमा रिक्तताको परिकल्पनै नगरेको बताएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation