काठमाडौं- स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवाको बीउको खरिद कार्यमा भ्रष्टाचार भएको ठहर गर्दै सोमबार अधिकारीसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, आपूर्तिकर्ता स्पुक ट्रेडर्सका प्रतिनिधिसमेत ६ जना विरुद्ध मुद्दा दायर गरेको हो।
अधिकारीले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारीसमा अस्वभाविकरुपमा दररेट थप गरेर नगरपालिकालाई १३ लाख रुपैयाँ क्षति पुर्याएको अख्तियारको ठहर छ। जसअनुसार अधिकारीलाई तेह्र लाख रुपैयाँ बिगो कायम गरी मागदावी लिएर विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
यसैगरी अधिकारीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेशिफिकेशनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको अख्तियारको ठहर छ।
जसअनुसार उनीहरुले आपूर्तिकर्तालाई पटक पटक गरेर २ करोड १४ लाख ५० हजार भुक्तानी दिएको अख्तियारले जनाएको छ। उनीहरुउपर करबापत कट्टा गरिएको रकम घटाई कायम हुने एक करोड सन्तानव्वे लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको भण्डारीले बताए।
साथै, अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स र उक्त कम्पनीका प्रतिनिधि शिव प्रसाद न्यौपाने विरुद्ध पनि दुई करोड दश लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ बिगो कायम आरोपपत्र दायर गरिएको भण्डारीले जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation