काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेको आलोचना गरेका छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले शुक्रबार जारी गृहमन्त्रालयको सूचनाको आलोचना गरेका हुन्।
एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न पटक–पटक मौखिक निर्देशन भएको भए पनि पक्राउ नपरेकोमा गृहमन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
‘निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ’, वक्तव्यमा छ। नेपालको इतिहासमा अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकालेर खोज्न जाने परम्परा सुरुवात भएको भन्दै खतिवडाले असन्तुष्टि जनाए।
'माननीय सांसदले अपराधी चिनाइदिनुपर्ने हो । मन्त्रालय अपराधी पक्राउ गर्नका साटो विज्ञप्ति जारी गरेर बसेको छ', उनले भने, 'सदनभित्र हतकडी लिएर आउनुस् भनेको छौँ र ? अपराधी पक्रन भनेका हौँ। सभामुखसँग रुलिङ मागेका हौँ।'
खतिवडाले थपे- ‘गृहमन्त्री बालपनको, केटाकेटीपनको प्रदर्शन गर्नुभएन। के गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो? जनतालाई ढाँट्नका लागि सूचना प्रकाशित गरिएको हो?’
© Lok Kalam . Designed and Developed by Goldenmud Creation