काठमाडौं- एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन्।
सत्ता गठबन्धनमा सहमति नजुटेपछि माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत पनि बालकोट पुगेका थिए।
उक्त बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो। उक्त सहमतिसँगै प्रचण्डलाई प्रधानमन्त्री बनाउने सन्देश राष्ट्रपतिको कार्यालयमा पठाइसकिएको एक नेताले जानकारी दिए।
गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी नछाडेपछि माओवादी केन्द्रले एमालेसँग सत्ता सहकार्य गरेको हो।
आजै राष्ट्रपतिको कार्यालयमा पुगेर दाबी गर्ने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation