९ कार्तिक २०८३, आइतबार

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु दलहरूले आफैँमाथि विश्वास नगर्नु हो : नेम्वाङ

  • ५ माघ २०७९, बिहिबार
Image

काठमाडौं- नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरूले आफैँमाथि विश्वास नगर्नु रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग नेम्वाङले यस्तो बताएका हुन्।

‘गैरराजनीतिक दलबाट राष्ट्रपति बनाउने कुरा राजनीतिक दलहरूले आफैँमाथि गरेको अविश्वास हो। राजनीतिक दलहरूले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ,’ नेम्वाङले भने, ‘जुन सक्षम व्यक्ति संविधानले कल्पना गरेको जस्तो काम गर्न सकोस्। मलाई दल भन्दा बाहिरको मान्छे हजम भएको छैन। अब राष्ट्रपति हुनको लागि कुनै कुलमा जन्मिनु पर्दैन।’

राष्ट्रपतिका लागि राजनीतिक दलहरूले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने नेम्वाङको भनाइ छ। एमालेबाट राष्ट्रपति बन्ने भएसँगै नेम्वाङको नाम चर्चामा रहेको छ। उनले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्नसक्ने बताए।

‘जनताको छोराछोरी नै राष्ट्रपति बन्ने हो, कोही पनि बन्नसक्छ। बन्नुहोस् भन्ने आग्रह छ । पार्टीले के निर्णय गर्छ हेरौँ,’ नेम्वाङले भने।राष्ट्रपति बन्नका लागि अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको पनि नेम्वाङको भनाइ छ । प्रतिनिधिसभामा आज निर्वाचित सभामुख देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने उनले बताए ।

‘आजको प्रतिष्पर्धा सहमतिको प्रतिष्पर्धा हो। लोकतन्त्रको विधि, प्रक्रियाअनुसारको प्रतिष्पर्धा हो। जुन हामी सबैले स्वीकारेको प्रतिष्पर्धा हो,’ नेम्वाङले भने, ‘सभामुखले अब हामीले विश्वास गरेको जस्तो गरेर सबैको विश्वास जितेर काम गर्नुपर्छ। मलाई विश्वास छ, उहाँले राम्रो काम गर्नुहुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर