काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मंगलबार विश्वासको मत लिँदै छ। १६९ सांसद्को समर्थन भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। उनले मंगलबार विश्वासको मत लिने भएका हुन्। प्रधानमन्त्री प्रचण्डले आफूलाई सबै दलहरुले विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन्।
सोमबारको संसद् बैठकमा प्रतिपक्षी बेन्चमा बसेका नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने संकेत गरेका छन्। संसदको पहिलो बैठकमा सम्बोधन गर्दै छिटोछिटो सरकार परिवर्तन होस भन्ने पक्षमा पार्टी नभएको बताएका छन्।
'भोलि त विश्वासको मत लिनु छ। यो कार्यकाल कति दिनको भन्ने आउला, तपाईंहरुको बहुमत संख्या पुगिसकेको छ। सबैले यो देशमा राजनीतिक स्थायीत्वको अपेक्षा पनि गरेका छन् ' नेपालले भने, 'हामी चाहादैनौं छिनछिनमा सरकारहरु परिवर्तन होस। विगतको अनुभवहरुले हामीलाई केही शिक्षा दिएको छ। विगतको शिक्षाबाट राम्रो ढंगले शिक्षा ग्रहण गरेर अघि बढ्न सक्नु पर्छ।'
अध्यक्ष नेपालले दाहाललाई प्रधानमन्त्री बनेकोका शुभकामना दिँदै बोली र व्यवहारमा समान्जस्यता हुनुपर्ने पनि बताए।
'नवनियुक्त हुनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई म शुभकामना दिन चाहान्छु। उहाँले केही गरेर देखाउने, नयाँ ढंगले अघि बढ्ने, नमूना काम गर्ने, सबै क्षेत्रमा सुधार देखाउने बताउनु भएको छ। जनताले अनुभूति गर्ने गरी अघि बढोस्' नेपालले भने, 'बोली र व्यवहारमा समान्ज्यस्ता आओस् भावना व्यक्त गर्दै सफलताको कामना गर्न चाहान्छु।'
© Lok Kalam . Designed and Developed by Goldenmud Creation