काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गरेरै जानुपर्ने कुरा पार्टीको निति र शिद्धान्त विपरित नभएको जिकीर गरेका छन्।
तीन दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा सोमबार आफ्ना भनाइ राख्दै प्रधामन्त्रीसमेत रहेका देउवाले गठबन्धन गर्नै पर्ने अडान दोहोर्याएका हुन्।
२०७४ को निर्वाचनमा गठबन्धन नहुँदा आफूले पनि मुस्किलले जितेको तर्क गर्दै देउवाले अन्य नेताहरुमाथि दबाब बढाएका छन्।
'गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ, गठबन्धन नगरेर हुन्छ?', देउवाले बैठकमा सहभागी अरु नेतालाई भने, 'गठबन्धन गरेर जाँदा हामी सबै जित्छौँ भन्या! ए!बाबा पहिला धेरै साथीहरू हारेका होइनन् र ?' उनले माओवादीसँग गठबन्धनलाई लिएर उठेका शंका पनि बैठकमा चिर्ने प्रयास गरेका छन्।
'मलाई पनि पहिले माओवादीले गोली हानेकै हुन् नि! पुराना कुरा सम्झेर हुन्छ?', देउवाले अगाडि भने, 'त्यसकारण चाहिँ गठबन्धन गरेर जानुपर्छ, त्यसैगरी जाऔँ।'
उनले आफ्नो विचार र सिद्धान्तमा शंका नगर्न पनि अरु नेतालाई भने,'मेरो आइडोलोजीमा शंका नगर्नुस', उनले भने, 'म धेरै लडेको मान्छे हुँ, म अब पार्टी सभापति हुने पनि होइन। तपाईँहरु जो जो हुने हो हुनुहोस्।' देउवाले आसन्न निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरेका छन् ।
गठबन्धनबारे फरक–फरक धारणा आएपछि जवाफमा प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएको स्मरण गराए।
नेता शेखर कोइरालाले गठबन्धन गर्न नहुने भन्दै आफ्नो विचार राखेपछि देउवाले प्रतिक्रिया दिएका हुन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation