काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति र कूटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। पूर्वराजदूत समूहले आज आयोजना गरेको ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिला’ विषयक साक्षात्कार कार्यक्रममा उनले नेपाल जस्तो देशका लागि कूटनीतिक सम्बन्धबारे दलहरुबीच सहमति आवश्यक भएको उल्लेख गरे।
पूर्वप्रधानमन्त्री ओलीले राजनीतिक दलले परराष्ट्र मामिलामा सहमतिका साथ अगाडि बढ्न आवश्यक रहेको बताए। “दलहरुबीच प्रतिस्पर्धा, सहमति र सहकार्यको राजनीति आवश्यक छ”, उनले भने। सरकारले प्रतिपक्षामा रहेको दलसँग परामर्श गर्नुपर्ने उनको भनाइ थियो।
विदेश सम्बन्ध राष्ट्रिय हितमा केन्द्रीत हुनुपर्ने अध्यक्ष ओलीले बताए । अध्यक्ष ओलीले छिमेकी मुलुकसँग भरपर्दो, विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए। “हामी स्वाधिन छौँ । हामी आफ्ना आन्तरिक वा बाह्य नीति निर्णय गर्न स्वतन्त्र छौँ। कसैबाट शासित हुनुपरेको छैन,” उनले भने।
छिमेकीसँगको सम्बन्धलाई बढी महत्व दिनुपर्नेमा उनले जोड दिए। अध्यक्ष ओलीले छिमेकीसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए। “छिमेकीसँग समस्या भए छलफल गरी समाधान गर्नुपर्छ। हामीले आफ्ना कुरा खुलस्तसँग राख्न सक्नुपर्छ”,उनले भने।
राजनीतिक खटपट नभएको भए कालापानी, लिपुलेक र लिम्पियाधुरा वा अन्य सीमा समस्या अहिलेसम्म समाधान भइसक्ने अध्यक्ष ओलीको भनाइ थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation