सिन्धुपाल्चोक- काठमाडौंदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो। चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो।
तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ। अहिले समय भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी कार्यालय बाहेक अरू छैन। कुनै रेसकम र होटेलमा भ्याइन भ्याइ हुने यो क्षेत्रमा यति बेला एउटा पनि होटेल तथा रेस्टुराँ छैन।
चीनसँग जोडिएको नेपालको सबैभन्दा पुरानो नाकाबाट भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चार वर्ष भए पनि निर्यात बन्द भएको सात वर्ष भइसकेको छ। जसका कारण चहलपहल शून्य जस्तै अवस्थामा पुगेको हो।
तातोपानी नाका नियमित सञ्चालन नभएपछि मितेरीपुलदेखि चीन–नेपाल दुवैतर्फको करिब पाँच किलोमिटर क्षेत्रमा चहलपहल छैन। यो नाकाबाट कहिलेकाहीँ मात्र सामान आयात भने भइरहेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार भएपछि चीन सरकारले तीन वर्षदेखि बन्द रहेका रसुवागढी र हुम्ला नाका खोलेको छ। हाल रसुवागढी नाकाबाट निर्यात सुरु भएको छ भने यारी नाकाबाट आयात भइरहेको छ। तर व्यावसायिक रूपले महत्त्वपूर्ण मानिएको सिन्धुपाल्चोकको तातोपानी नाका तीन वर्षदेखि पूर्ण रूपमा खुलेको छैन। केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने भएकाले नेपाली व्यापारीहरू तातोपानी नाकाबाटै सामान ल्याउन खोज्छन्।
नेपाल च्याम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ कोटा तोक्नेभन्दा पनि आवश्यक सामग्री ल्याउने गरी चीन सरकारले वातावरण बनाउनुपर्ने बताउँछन्।
चीनमा तीन वर्षदेखि जारी बन्दाबन्दी अहिले मात्रै हटेकाले नाकाबाट आयात–निर्यात खुला हुने स्थानीयमा आशा भने कायमै छ। चिनियाँ पक्षले बन्दाबन्दी हटेपछि खासाबाट पहिलेको तुलनामा बढी कन्टेनर नेपाल पठाउन थालेका छन्।
लामो समयदेखि नाका नखुल्दा त्यहाँ कार्यरत मजदुरहरू समस्यामा परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए। “सामान लोड र अनलोड गर्ने मजदुरहरुलाई काम नै पुगेको छैन”, उनले भने, “आयात र निर्यात पहिले झैँ भयो भने उनीहरुले पनि काम पाउँछन्।”
नाका बन्द हुँदा त्यहाँ कार्यरत व्यवसायीहरु पलायन हुन थालेका छन्। लिपिङमा झोले पोके व्यापार र पर्यटकको भारी बोकेर गुजारा गर्ने स्थानीयहरू विदेश जान बाध्य भएका छन्। भोटेकोसी गाउँपालिकाको पाँच वटा वडा र बाह्रबिसे नगरका दुई वटा वडाका अधिकांश स्थानीय विदेश पलायन भएका हुन्।
भोटेकोसी नारायणथान निवासी शेर्पाले तातोपानी नाका बन्द भएको आठ वर्षयता यस क्षेत्रका अधिकांश घर खाली भएको र धेरैजसो विदेश गएको बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation