८ कार्तिक २०८३, शनिबार

ऐनले अयोग्‍य ठहर गरेकी सुनिता डंगोल काठमाडौंको उपमेयर उम्मेदवार, अब के हुन्छ?

  • २२ वैशाख २०७९, बिहिबार
Image

काठमाडौं- नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवारी दिएकी सुनिता डंगोलले स्थानीय निर्वाचन ऐनको उल्लंघन गरेको पाइएको छ। 

स्थानीय निर्वाचन ऐन २०७३ अनुसार नेपाल सरकारबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको अवस्थामा स्थानीय निर्वाचनका लागि उम्मेदवार हुन अयोग्‍य रहने उल्लेख छ। ऐनले अयोग्य ठहर गरेको डंगोलले भने उम्मेदवारी दर्ता गराएर ऐन कानुन पालना गर्ने र महानगरलाई समृद्ध बनाउने सपना बाँड्दै घरदैलोमा जुटिरहेकी छन्। 

उनी हाल पनि नेपाल टेलिभिजनको जागिरे नै रहेको पाइएको छ। उनले नेपाल टेलिभिजनमा चिल्ड्रेन क्लब भन्‍ने कार्यक्रम सञ्‍चालन गर्ने गरेकी छन्। उनको पछिल्लो कार्यक्रम वैशाख १० गते प्रसारण भएको पाइएको छ। 

वैशाख १२ गते उम्मेदवारी दर्ता गराएकी डंगोलले नेपाल टेलिभिजनमा भने राजीनामा दिएकी छैनन्। सरकारी प्रसारण संस्थामा बहाल रहेकै अवस्थामा कुनै पनि उम्मेदवार योग्‍य नहुने बताइएको छ। 

स्थानीय निर्वाचन ऐनको दफा १३ को (ग) मा भनिएको छ,'नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको' व्यक्ति उम्मेदवारका लागि अयोग्य हुने उल्लेखडं गरिएको छ। 

डंगोलले नेपाल टेलिभिजनमा राजीनामा नदिएकै अवस्थामा उम्मेदवारी दिएका कारण उनी अयोग्य भएकोले उजुरी परेको अवस्थमा उनको उम्मेदवारी नै खारेज हुने निर्वाचन आयोगले जनाएको छ। 

ऐनले अयोग्य भनेको व्यक्तिले फेरि पनि उम्मेदवारी दर्ता गराउँछ भने त्यस्तो व्यक्ति त कानुनी कारबाहीको भागेदार हुने र उम्मेदवारी नै खारेज हुने आयोगका एक उच्च अधिकारीले जानकारी दिएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर