काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अहिलेको परिस्थितिको गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै अबको बाटो तय गरिने बताएका छन्।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा शनिबार संयुक्त वक्तव्य जारी गरेर महामन्त्रीद्वय शर्मा र थापाले असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरी गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै पार्टीले सुविचारित ढंगबाट अबको बाटो तय गर्ने बताएका हुन्।
जनताको मतबाट कांग्रेस पहिलो दल बनेपनि पर्याप्त सावधानी र गृहकार्य नहुँदा प्रतिपक्षमा बस्नु परेको विज्ञप्तीमा उल्लेख छ।
‘प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुगेको छ। यस्तो नहुनु पर्थ्यो भनेर पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वभाविक होइन,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममुल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ।
वक्तव्यमा निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा आफूहरूबाट नभएको दाबी पनि गरिएको छ। नेपाली जनताको मतबाट कांग्रेस पहिलो दलका रूपमा विजयी भए पनि गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्याउन नसक्दा सत्ताको राजनीतिमा यो पटकमात्रै पछि परिएको महामन्त्रीद्वयको भनाइ छ।
“नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ । तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्याउन नसक्दा केबल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौँ । हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौँ कि निर्वाचनका बेला एउटा गठबन्धन र एउटा वाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन”, वक्तव्यमा उल्लेख छ।
कांग्रेसले वर्तमान सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षका रुपमा सशक्त भूमिका निर्वाह गर्ने तथा राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिने महामन्त्रीद्वय थापा र शर्माको भनाइ छ।
कांग्रेसले आफ्नो गौरवशाली इतिहासमा यस्ता अनेकौँ चुनौती र अफ्ठ्यारा मोड सामना गरेको तर हर चुनौतीलाई चिरेर दृढतापूर्वक अघि बढेको छ र देशलाई सफलतापूर्वक निकास दिएको छ।
त्यसैले अहिलेको परिस्थितिलाई पनि सङ्कटका रूपमा लिएर हतास हुने छुट आफूहरुलाई नभएको उल्लेख गर्दै उनीहरुले यसलाई पार्टीको शुद्धीकरण र पुनर्जागरणको नवीन अवसरमा बदल्ने जबर्जस्त तागत प्रस्तुत गर्ने बताएका छन्।
पार्टीलाई अहिलेको अलमलबाट बाहिर निकाल्नैपर्ने र अहिलेको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्ने उद्घोषका साथ महामन्त्रीद्वय थापा र शर्माले त्यसका लागि अविलम्ब पार्टीको संरचना र सङ्गठन गतिशील र चुस्त बनाउने बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation