काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको भनिएको अस्पतालबाट कागजात झिकाउन अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको हो। लामिछानेका वकिल सरोजकृष्ण घिमिरेका अनुसार जिल्ला अदालत काठमाडौंले मंगलबार तीनवटा आदेश गरेको छ।
अदालतको आदेशमा किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट रेकर्डको कागजात झिकाउने आदेश गरेको हो ।
किशोरीको जन्म हुँदा उनीहरू वीरगञ्जमा रहेको र त्यहीँको नारायणी अस्पतालमा किशोरीको जन्म भएको दाबी गरिएको छ। सन्दीप पक्षका वकिलका अनुसार किशोरीको जन्म २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको थियो। त्यहाँ किशोरीको आमाको नाम उल्लेख गरिएको र छोरीको जन्म भएको भनेर उल्लेख गरिएको सन्दीप पक्षका वकिलले दाबी गरेका छन्।
मंगलबारकै आदेशमा किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बकपत्रका लागि बोलाउने आदेश भएको छ। जाहेरीपछि किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरले अब बकपत्रका लागि काठमाडौं जिल्ला अदालतमा आउनुपर्नेछ।
त्यसैगरी किशोरी र सन्दीप लामिछाने दुवैका साथी भनिएका क्रिकेटर देव खनाललाई पनि बुझ्ने आदेश भएको छ। अधिवक्ता घिमिरेका अनुसार मंगलबारको सुनुवाइपछि यी तीन वटा विषयमा बुझ्ने आदेश भएको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation